सूचनाको शक्ति - The Power Of Information

        

बजेट अधिवेशनको तयारीमा कर्णाली

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले कोरोना भाइरसबाट सुरक्षित रहन पूर्ण सावधानी अपनाएर बैठक सञ्चालन गर्ने तयारी गरेको छ । सचिवालयले प्रदेशसभा सदस्यहरुको पिसिआर विधिबाट कोरोना परीक्षण, सामाजिक दूरी कायम हुने गरी बैठक कक्षको व्यवस्थापन गर्ने भएको हो ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले जेठ ११ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरिसकेको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएपछि औपचारिक तयारीमा जुटिसकेको बताए । उनका अनुसार बैठकमा सहभागी मुख्यमन्त्री, सभामुख–उपसभामुख, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, सचिवालयका कर्मचारी, मर्यादापालक र केही पत्रकार गरी १०० जनाको थ्रोट स्वाब सङ्कलन गरी पिसिआर विधिबाट कोरोना परीक्षण गरिनेछ ।

‘कोरोना परीक्षणको रिपोर्ट देखाएपछि मात्र बैठक कक्षभित्र प्रवेश गर्न दिइनेछ,’ सचिव बुढाथोकीले भने, ‘सामाजिक दूरी कायम गरी सिट व्यवस्थापनमा जुटेका छौँ, दर्शक दीर्घासम्मै माननीय बस्नुहुनेछ ।’ पत्रकार, मन्त्रालयका कर्मचारी र दर्शकहरुलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइनेछ । त्यस्तै प्रदेशसभाभित्र प्रवेश गर्दा मास्क, पञ्जा अनिवार्य लगाउनुपर्नेछ ।

सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने बताए । प्रदेश स्वास्थ्य निर्देशक डा.रीता भण्डारी, प्रदेश अस्पतालका चिकित्सकसहित प्रदेशसभा भवनको अवलोकन गरेका मन्त्री रावलले पिसिआर परीक्षणका लागि आवश्यक जनशक्ति, स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

जेठ ७ गतेसम्म सचिवालयले तोकेका सबैको स्वास्थ्य परीक्षण गरिसक्ने उनको भनाइ छ । प्रदेशसभा सचिवालयले जेठ ७ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको छ । सो बैठकले कार्यसूची तय गर्नेछ । प्रदेश सरकारले असार १ गते बजेट र त्यसको एकसाताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश सरकार आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटिसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १०:५९