सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा जलाइयो मोदी र ओलीको पुत्ला

काठमाडौं । नेपाली भूमि लिपुलेकमा सीमा अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेपछि यतिबेला नेपालमा उक्त कदमको विरोध भइरहेको छ । कोरोना भाइरसका महामारीका बीच लागू गरिएको लकडाउनका बावदुद अहिले दैनिकरुपमा राजधानीका सडकमा विरोध–प्रदर्शन भइरहेका छन् ।

आन्दोलनकारीले आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । आन्दोलनकारीलाई रोक्न भनेर प्रहरी तम्तयार थियो । तर बबरमहलमा हात्तहुत्तै युवाहरुको समूह निस्कियो । ब्यानर र पुत्ला बोकेका उनीहरुले छिनभरमै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुत्ला जलाएका थिए ।

भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार ओली र मोदीको पत्ला दहन गरे । युवा सीमा बचाउ अभियान अन्तरगतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन गरे । प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेर उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् । काठमाडौँको बबरमल क्षेत्रमा जम्मा भएका प्रदर्शनकारीले भारत विरोधी नारा लगाउनका साथै सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १५:०७