सूचनाको शक्ति - The Power Of Information

        

माछा बिक्री नहुँदा चिन्ता

बर्दिया । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्न समेत पाएका छैनन् । चैत र वैशाख पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्ने समय हो ।

सरकारले कोभिड– १९ संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् । करीब एक हजार क्विन्टल माछा नै बिक्री गर्न नभएर पोखरीमै छन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र रेष्टुरेन्ट बन्द रहेको र हाटबजारसमेत नचलेपछि माछा पोखरीमै छन् ।

बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र गोदाममा भएको दाना सकिन थालेको बढैयाताल गाउँपालका–५ का माछापालक किसान तथा माछा ब्लक समितिका अध्यक्ष भक्तराम थारुले बताए । अध्यक्ष थारुका अनुसार पोखरीमा राख्न पहुँचवालाले गाडी पास बनाएर भुरा ल्याए पनि साना किसानले पाउन सकेका छैनन् ।

तिनले माछाको दाना पनि ल्याउन पाएका छैनन् । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा पालन पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । सो क्षेत्रमा ७०० हेक्टर पोखरीमा ७० किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । ठाकुरबाबा नगरपालिकामा करीब एक हेक्टर र बारबर्दिया नगरपालिकामा करीब २० बिघा पोखरीमा माछापालन भइरहेको छ ।

बढैयाताल ५ जगपुर माछापालक किसान चन्दप्रकाश लम्सालले नौ बिघा पोखरीमा व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । उनले पनि लकडाउनका कारण माछा बिक्री गर्न पाएका छैनन् । बर्दियाका किसानलाई माछाको भुरा र दानाका लागि रुपन्देही, कैलाली र बाँके जिल्लामा भर पर्नुपर्ने बाध्यता छ । तयार भएका माछा बिक्रीका लागि कैलाली, बाँके र सुर्खेत जिल्ला नै मुख्य बजार हुन् ।

बाह्य र आन्तरिक दुवै बजार लकडाउनले बन्द हुँदा किसान मर्कामा परेका हुन् । माछापालन प्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा बिक्री नपाउँदा माछापालन किसान आनन्द गिरीलाई बैँकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । उनले १४ कट्ठा जग्गाको पोखरीमा उत्पादन भइसकेको माछा बिक्री गर्न नपाइएको तर दाना खुवाइरहनुपर्दा लगानी बढेको बताए ।

उनी माछालाई दैनिक रु २५ हजारसम्मको दाना खुवाउँछन् । ठाकुरबाबा नगरपालिका वडा नं ९ का माछापालन किसान नवराज रिजालले सात बिघा पोखरीमा माछापालन गरेका हुन् । लकडाउन आगामी असार महिनासम्म नखुले उत्पादन भइसकेका माछा बिक्री गर्न नपाई रु ७० लाखसम्मको आर्थिक जोखिम उठाउनुपर्ने अवस्था रहेको किसान रिजालले बताए । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले माछापालन किसानले भोगिरहेको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार ११:२८