काठमाडौं । नेपाली भूभाग प्रयोग गरि भारतले तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो निर्माण गरेको बारेमा सांसदहरुले सरकारको स्पष्ट धारणा र तयारीबारे जानकारी मागेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट परराष्टमन्त्री प्रदीप ज्ञवालीले सिमा विवाद सुल्झाउन कुटनीतिक पहल भइरहेको जानकारी दिएपछि सांसदहरुले मन्त्रीलाई प्रतिप्रश्न गरेका हुन् ।
मन्त्री ज्ञवालीलाई प्रश्न सोध्दै कांग्रेस सांसद दिलेन्द्र बडूले सरकार बल्ल ब्युँझिएको टिप्पणी गरे । ‘धेरै लामो निन्द्रापछि सरकार आज ब्यूँझिए जस्तो छ । डिप्लोमेटिक नोट पठाएको सुनियो । आज उद्घाटन मात्रै भएको हो,’ उनले भने, ‘कहिलेदेखि बन्न सुरु भयो ? त्यसको सूचना यो सरकारसँग थियो कि थिएन ?’ चीन र भारतबीचमा जति बेला समझदारी भयो, त्यतिबेला सुशील कोइरालाको सरकार थियो ।
‘उसले अत्यन्तै गम्भीर प्रोटेष्ट नोट पठाएको थियो । त्यसपछि आज उद्घाटन हुँदासम्म यो सरकारले के नोट पठाएको छ? त्यसको जानकारी अहिले चाहियो,’ बडूले भने । बडूले सडक बन्दै गरेको सूचना सरकारसँग थिएन भने सूचनाका माध्यम समाप्त भएका हुन् कि ? भनेर प्रश्न गरे । ‘मैले यसबारेमा यही सदनमा हाम्रोपट्टीको बाटो नबन्ने तर उतातिर युद्धस्तरमा बाटो बनिरहेको ६ महिना अघि नै बताएको थिएँ,’ उनले भने ।
उनले आक्रोशित हुँदै भने, ‘नेपाली भूमि मिचेर भारतले बनाएको सडक कालापानी–लिपुलेक पुग्दैछ भन्ने कुरा बोल्दा पनि ध्यानाकर्षण नहुने ? मैले मिडियामा पनि बोलेको छु । सरकार के गरेर सुतिरहेको थियो ?’ नेपाली कांग्रेसका अर्का सांसद मिनेन्द्र रिजालले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको देशभक्तिमाथि लाञ्छना लगाइएको भन्दै आपत्ति प्रकट गरे । ‘त्यही चीज बोकेर आउनुभएको छ । अलिक अगाडि सीमा अतिक्रमण भयो । सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टीका दुईवटा मोर्चा तयार भयो,’ उनले भने ।
रिजालले अमेरिकी परियोजना एमसीसीमा एउटा मोर्चा सत्तोसराप गर्ने अर्को मोर्चा एमसीसीलाई बोकेर हिड्नुपर्छ भन्नेतर्फ लागेको बताए । ‘एउटा मोर्चा गाली गर्ने अर्को मोर्चा डिफेन्स गर्ने । यसमा पनि सरकार दुईवटा मोर्चा खडा गरेर बस्ने हो ? कि परराष्ट्रमन्त्री के गर्न चाहनुहुन्छ ? संसदसँग कहाँ सहयोग चाहनुहुन्छ ?’ उनले सोधे, ‘विपक्षी दलहरुले सहयोग गर्या छ भन्नुभएको छ । अब गर्ने के हो ? खाली प्रोटेस्ट नोट पठाउँछौ भन्ने मात्रैले पुगेन ।’
सत्यपाटी ।