बझाङ । कार्यालय समयको एक घण्टा खोलाबाट बाल्टिनमा पानी बोकेर जम्मा गर्ने कार्यालय सहयोगी रामप्रशाद जोशीको दैनिकी छ । जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा पिउने र सरसफाई गर्ने पानीको समस्या छ । १० बर्षअघि खानेपानीको धारा निर्माण त भयो, तर पाइप जमिनभित्र नगाडिएकोले करिब ६०० मिटर पाइप चोरी भयो ।
अर्कातिर पानीको मुहान पनि सुकेपछि अहिले धाराको नमुना मात्र खडा छ । स्वास्थ्य चौकी प्रमुख एचए बिनोद खड्का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यबस्थापन समितिका अध्यक्ष हरिचन्द जोशीले चासो नदिँदा अहिलेसम्म पानीको समस्या सुल्झाउन नसकेको स्वास्थ्यकर्मी राधा राना बताउँछिन् ।
बर्थिङ सेन्टरमा सुत्केरीका लुगा कपडा र अन्य सामान सरसफाई गर्न नजिकै रहेको चौपाख्या खोलामा जानुपर्ने बाध्यता रहेको बर्थिङ सेन्टरकी अनमी ममता खत्रीले बताइन् । स्वास्थ्य चौकी व्यबस्थापन समितिको बैठकमा समेत पानीको समस्याका बारेमा सबैले चिन्ता मात्र व्यक्त गर्छन्, तर पानी ल्याउन पहल कसैले गर्दैनन् ।
वडाध्यक्ष जोशीले योजना बनाएर पानी ल्याउने भन्न लागेको पनि तीन बर्ष बित्न लाग्यो, अहिलेसम्म ७ नं. वडा कार्यालयमा र स्वास्थ्य चौकीमा खानेपानी छैन । जयपृथ्वी नगरपालिकामा सबैभन्दा धेरै सुबेडा स्वास्थ्य चौकीमै बढि सुत्केरी हुन आउँछन् । खोलाबाट २० लिटर पानी बोकेर ल्याएर बाल्टिनमा भर्ने गरिन्छ ।
कोरोना रोगबाट सङ्क्रमण कम गर्नका लागि झन् बढि हात धुने काम गरिने भएकोले आजकाल बिहान पानी जम्मा गरेर फिल्टर गर्ने गरेको कार्यालय प्रमुख खडकाले बताए । स्वास्थ्य चौकी र वडा कार्यालय आसपास खानेपानी अभाव छ । सुत्केरीका लुगा कपडा सफा गर्न पानी बोकेर ल्याउने गरेको स्थानीयहरु बताउँछन् ।
समस्याको बारेमा आफुलाई थाहा भएको र पानीको मुहान खोजेर अब छिट्टै पानीको सुबिधा हुने जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडकाले बताए । पानीको समस्या समाधानका लागि आफुले स्थानीयसँग मुहानका बारेमा पटकपटक छलफल गरे पनि काम गर्न नसकिएको उपमेयर जुना जाग्रीले बताइन् ।
स्वास्थ्य संस्थामा पर्याप्त पानी नहुँदा सङ्क्रमण हुने सम्भावना बढि छ । शुद्ध पिउने पानी र सफाई गर्न बर्षायाममा खोला धमिलो हुने भएकोले खानेपानीको समस्या धेरै रहेको सुबेडा स्वास्थ्य चौकीकी अनमी दुर्गा बम्म जोशीले बताइन् । स्वास्थ्य चौकीबाट खोला करिब दुई सय मिटर टाढा रहेको छ ।
खोलाबाट पानी ल्याएर फिल्टरमा खन्याउँदै कार्यालय सहयोगी ।
सत्यराज सिंह ।