सूचनाको शक्ति - The Power Of Information

        

सीमा समस्या समाधानका लागि ऐक्यबद्ध बनौं : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत आज उनले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताएका छन् ।

‘लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो,’ उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनसमेत आग्रह गरेका छन् ।

उनले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गरेका छन् । उनले भनेका छन्, ‘दक्षिण भारत र दिल्लीबाट आउनुभएका प्रदेश ५ का सबै अनिवार्यरुपमा कोभिड–१९ को परीक्षण गराएर मात्र घर जानुहोला । परीक्षण निःशुल्क छ ।’

यसअघि मुख्यमन्त्री पोखरेलले भारतबाट लुकिछिपी आउने नागरिकका बारेमा सुरक्षा निकायलाई जानकारी दिई नजीकको क्वारेन्टिनमा राख्न लगाउन आग्रह गरेका थिए । उनले समुदायलाई कोरोनाबाट जोगाउन सबैसँग आग्रहसमेत गरेका छन् । रासस

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १४:४०