काठमाडौं । भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका ३३ जना पक्राउ परेका छन् । आज दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघ, सत्तारुढ नेकपानिकट अखिल, मोहन बैधनिकट अखिलले संयुक्तरुपमा गरिएको प्रदर्शनमा हस्तक्षेत्र गर्दै पक्राउ गरिएको नेविसंघ पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिइन् ।
महानगरीय प्रहरी परिषरका एसएसपी श्याम ज्ञवालीले ३३ जना पक्राउ गरेको पुष्टि गरे । भारतले लिपुलेक–कालापानी सडक बनाएपछि त्यसको विरोधमा प्रर्दशन भएको हो । भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई देशबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।
भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए । नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ । यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्र्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो ।
सत्यपाटी ।