सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाले बम हराएपछि…

जंगलमा तालिमका क्रममा नेपाली सेना । फाइल तस्वीर

जंगलमा तालिमका क्रममा नेपाली सेना । फाइल तस्वीर

बाग्लुङ । नेपाली सेनाको अर्जुनवाण गणले बाग्लुङको काठेखोला गाउँपालिका–५ घोडाबाँधेस्थित जंगलमा वैशाख १८ गते बम हरायो । बम हराएपछि सेनाको टोलीले खोजी गर्यो । तर पाएन । स्थानीय बिउँ गाउँका बासिन्दाले प्रयोग गर्ने सामुदायिक बनमा बम हराएपछि सेनाले गाउँपालिका र वडा कार्यालयलाई सूचना दियो, गाउँलेलाई जंगल जान नदिनू ।

सेनाले गाउँपालिका र वडा कार्यालयमा पत्र पठाएर उक्त आग्रह गरेको थियो । सेनाको पत्र पाएपछि गाउँपालिका र वडा कार्यालयले गाउँलेलाई जंगल नजान आग्रह गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बताए । ‘आर्मीको गणबाट पत्र आएपछि हामीले गाउँलेलाई बम हराएको क्षेत्रमा नजानु भनेका छौं,’ अध्यक्ष थापाले भने, ‘बम नपाएसम्म त्यस क्षेत्रमा जान जोखिम हुन्छ भनेका छौं ।’

सेनाको भाषामा ‘जिआर ४८२५’ इलाकामा तालिमका क्रममा शिक्षार्थीलाई अभ्यास गराउँदा बम हराएको बताएको छ । गणका सेनानी दीप श्रेष्ठले गाउँपालिकालाई लेखेको पत्रमा ‘२ इन्च मोटरबाट फायरिङ अभ्यास गराउँदा २ इन्च मोटरको एचई बम गोटा–१ मिस फायर (नपड्किएको) भई हराएको’ उल्लेख गरेको छ ।

सेनाले पत्रमा ‘हराएको बम दैनिकरूपमा खोजतलास गर्दासमेत हालसम्म फेला नपरेको हुँदा सुरक्षाका कारण त्यस कार्यालयहरूबाट स्थानीय समुदायिक वन तथा स्थानीय वासिन्दालाई बम नभेटिएसम्म उक्त क्षेत्रमा आवतजावत नगर्नु हुनका लागि जानकारी गराई दिनुहुन सहयोगार्थ अनुरोध गरिन्छ’ भनेको छ ।’

वैशाख १८ गतेदेखि बम हराए पनि सेनाले गाउँपालिकालाई वैशाख २३ गते मात्र पत्र पठाएको थियो । पत्रमा उक्त बम कति शक्तिशाली भन्ने खुलाएको छैन । उक्त बम शक्तिशाली नै रहेको एक अधिकृतले बताए । बमको खोजी कार्य जारी रहेको गणका प्रमुख कर्नेल मिलनध्वज खाँणले बताए । उनले घटना सामान्य भएको र बम हराएको विषय ठूलो नभएको बताए ।

‘ब्यारेक वरिपरि नै हराएको हो, हामीले सूचना दिइसकेका छौं,’ उनले भने, ‘यो त्यति ठुलो कुरा होइन ।’ सेनाले सूचना दिएलगत्तै गाउँलेलाई जंगलमा घाँस–दाउरा गर्न रोकेको काठेखोला ५ का वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । उक्त क्षेत्र शिवदुरी सामुदायिक वन र घोडाबाँधे रुम्से सामुदायिक वनको सीमाना क्षेत्र पर्छ । ‘हामीले यी दुइटै वनमा जान गाउँलेलाई रोकेका छौं,’ कँडेलले भने, ‘सेनाले बम खोजिरहेको छ, नपाउँदासम्म नजान भनेका छौं ।’

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १९:२१