सूचनाको शक्ति - The Power Of Information

        

नेपाली भूमि लिपुलेक अतिक्रमण गर्दै भारतले खोल्यो मानसरोवरको बाटो

दार्चुला । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।

भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड–१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’ उत्तर भारतबाट चीनसम्मको सीमा जोड्नका लागि ८० किलोमिटरको बाटो खोलिएको हो ।

चीनको सीमासम्म बाटो बनेपछि देशको सामरिक बलियो हुने रक्षामन्त्री सिंहले बताएका छन् । कैलाशसरोवर जानका लागि यस मार्गबाट सहज हुन्छ । सेना, सीमा सुरक्षाबल र प्रहरी जवानलाई सीमा सुरक्षा गर्न जानलाई सहज हुन्छ । यस मार्गले नेपालको सीमालाई पनि जोड्नेछ । तीन देशको अन्तर्राष्ट्रिय सीमाको सडक सुरक्षामा भारत र तीब्बतको सुरक्षाकर्मीलाई सुविधा मिल्ने भएको छ ।

सीमा सुरक्षाकर्मीलाई सामान ओसारपसार गर्नलाई सहज हुने भएको छ । धार्चुलाबाट चीन पुग्नका लागि चार दिन लाग्थ्यो भने अब सडक बनेपछि पूरा एक दिनमा पुगिने भएको छ । उनले सडक निर्माणका लागि बिआरओले गरेको कामको प्रशंसा गरेका थिए । यस क्षेत्रमा बाटो निर्माण गर्नु ठूलो चुनौती रहेको उनले बताए । मन्त्रीले हरियो झण्डा देखाएर धारचुलाको लागि एसएसबीको सवारीसाधन पठाएका थिए ।

शनिबार बिहान धारचुलाबाट चीनको सीमा जानेछ । उदघाटन समारोह नैनीसेनामा भएको थियो । कार्यक्रममा मुख्य अभियन्ता विमल गोस्वामी, विवेक भुषण, ओसी कर्नल सोमेन्द्र बनर्जी, जिल्ला अधिकारी डा.विके जोगदंडे, प्रहरी प्रीति प्रियदर्शिनिको उपस्थिति थियो । सामरिक महत्वको दृष्टिकोणले यो मार्ग महत्वपूर्ण रहेको छ । सन् २००६ देखि लिपुलेकदेखि निर्माण कार्य सुरु भएको थियो ।

२०१२ सम्ममा निर्माण गर्ने लक्ष्य राखेको थियो । विविध कारण तथा भौगोलिक कारणले निर्माण प्रक्रियामा बाधा आएको थियो । ठूलाठूला पहाडको चट्टान फुटाउनका लागि अष्ट्रेलियाबाट आधुनिक मेसिन ल्याइएको थियो । सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् । सिंहले ट्वीट गर्दै बीआरओले सीमा जोड्नको लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् ।

‘सुगौली सन्धि विपरीत’

यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविद्हरू बताउँछन् । भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनाल त्यो बाटो नेपाली भूमि हुँदै गाएको बताउँछन् । सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । प्रा.डा.खनाल लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटियाङ्दीलगायतका सम्पूर्ण भूभाग नेपालको हो ।

सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्फ पर्नेगरी नोभेम्बर २०१९ यता दुईवटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भयो । त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यतिबेला उनीहरूले नेपाललाई कुनै जानकारी दिएको थिएन ।

कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको कुरा दुवै देशले स्वीकारेको छ । तर, आफैँले विवाद छ भनेर स्वीकारेको क्षेत्रमा एकलौटी रुपमा बाटो खोल्नु गलत भएको जनकारहरू बताउँछन् । सर्वे अफ इन्डियाले निकालेको नक्साको जनस्तरमा व्यापक विरोध भएपछि नेपाल सरकारले कूटनीतिक नोटसमेत पठाएको थियो । तर, भारतले अहिलेसम्म समस्या समाधान हुने गरी तत्परता देखाएको छैन ।

भारत चुप लागेर बसे पनि नेपालले आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्ने जानकारहरू बताउँछन् । पूर्वसचिव द्वारिकानाथ ढुंगेलका अनुसार यो महाकाली नदीको मुहानसँग जोडिएको मुद्दा हो । भारत आफैँले कालापानी र सुस्तामा विवाद छ भनेको बेला त्यसरी सडक खोल्नु सहमति विपरीत भएको ढुंगेल बताउँछन् । ‘कोभिड–१९ को मारमा परेका बेला भारतले सडक उद्घाटन गरेको खबर आयो,’ सीमा बचाउ अभियानमा समेत सक्रिय पूर्वसचिव ढुंगेल भन्छन् ‘यो विषयमा नेपाल सरकारको दृष्टिकोण के हो ? दिल्लीस्थित नेपाली दूतावासले के खबर गर्यो ?’

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १८:२९