फाइल तस्वीर
बाँके । बाँकेमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण गर्नुपर्ने भए पनि किटको अभाव देखिएको छ । भेरी अस्तापलका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले संकलित स्वाबको परीक्षणका लागि किटको अभाव भएको बताए ।
‘स्याम्पल लिएर राख्नुमात्रै भएन । परीक्षणका लागि पीसीआरको किटको अभाव छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले पठाउने भनेको छ । आज साँझसम्म आइपुग्ला कि ?’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बिहीवारको नियमित प्रेस ब्रिफिङमा नेपालगन्जमा एक हजार पीसीआर किटसहित स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको टोली परिचालन गरिने बताएका थिए ।
‘स्वास्थ्य सामग्री र जनशक्ति पठाउने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट हुन्छ,’ उनले भनेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर वासुदेव पाण्डेले आवश्यक स्वास्थ्य सामग्रीमा व्यवस्थापन विभागले समन्वय गरिरहेको बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालय, प्रदेशको स्वास्थ्य निर्देशनालयबाट जनशक्ति खटिएका छन् ।
भेरी अस्पतालका डाक्टर थापाले केन्द्रको टोली र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ तथा संक्रमण कहाँबाट फैलियो भन्ने अध्ययन भइरहेको बताए । संक्रमित २३ जनाको कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेको छ । यस्तै बाँकेमा कोरोना भाइरसबाट संक्रमितको सम्पर्कमा आएका थप १३६ जनाको पीसीआर परीक्षण रिपोर्ट आज सार्वजनिक हुने भएको छ ।
बुधवार संकलन गरिएका १३६ जनाको स्वाब परीक्षणको नतिजा आज सार्वजनिक हुने भेरी अस्पतालले जनाएको छ । ‘ल्याबमा परीक्षण सकिँदैछ । आज साँझसम्म नतिजा सार्वजनिक होला,’ अस्पतालका मेसु डाक्टर थापाले भने । थापाका अनुसार यी सबै २३ जना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु हुन् ।
बुधवारमात्रै संक्रमितको सम्पर्कमा आएका ५६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुको मंगलवार स्वाब संकलन गरेर ल्याबमा पठाइएको थियो । बिहीवार पनि संक्रमितको सम्पर्कमा रहेका ४८ जनाको स्वाब संकलन गरिएको डाक्टर थापाले बताए । ‘उनीहरुको पनि परीक्षण सुरु भइसकेको छ,’ डाक्टर थापाले भने, ‘यसको रिपोर्ट आउन समय लाग्छ ।’ उनका अनुसार ल्याबमा १८४ जनाको स्वाब परीक्षण भइरहेको छ ।
गत शुक्रवार बाँकेमा पहिलोपटक नेपालगन्ज उपमहानगरपालिका–८ मा रहेको इस्लामिया फैजुल उलम मदरसाका ६० वर्षीय शिक्षकलाई कोरोनाको संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका १०५ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा ७ र ९ वर्षीया बालिकासहित थप २२ जनामा संक्रमण देखिएको थियो । उनीहरु सबै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
सत्यपाटी ।