फाइल तस्वीर
बाँके । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले थालेको सशस्त्र युद्धका बेला विद्यालयहरूमा संस्कृत विषयको पढाइ बन्द गरियो । त्यसबेला कक्षा ६ देखि पढाइ हुने संस्कृत विषयलाई परम्परागतवादी र ब्रुजुवा भाषा भएको भन्दै माओवादीहरूले पढाउन रोक लगाइएको थियो । देशभरिका विभिन्न जिल्लामा माओवादीले विद्यालयमा संस्कृत पढाइ हुन रोकेपछि सरकारले नै उक्त विषय पाठ्यक्रमबाट हटाइदिएको थियो ।
संयोग नै मान्नुपर्छ, तत्कालित नेकपा (माओवादी)कै नेता हाल शिक्षामन्त्री भएका बेला फेरि संस्कृत पढाइ सुरू हुने भएको छ । नेकपा माओवादी (केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शिक्षामन्त्री भएका बेला संयोगले संस्कृत पढाइ सुरू हुँदैछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले संस्कृत पठनपाठनका लागि नमूना किताबसमेत तयार पारिसकेको छ ।
सरकारले यसै शैक्षिक शत्रदेखि लागुहुने गरि संस्कृत पठनपाठन गर्ने भएको छ । त्यो पनि कक्षा एकदेखि नै अन्य विषय सरह । सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीको निशानामा परी बन्द भएको संस्कृत पठनपाठन विद्यालयहरूमा फेरि सुरू गर्न लागिएको हो । मातृभाषा नपढाउने स्थानीय तहले त्यहाँका विद्यालयहरूमा कक्षा आठसम्मको पाठ्यक्रममा अब संस्कृत भाषा अध्ययन समावेश गर्नुपर्नेछ ।
कक्षा आठसम्मका लागि पुस्तक तयार पारिँदैछ भने कक्षा एकमा यसै शैक्षिक सत्रदेखि संस्कृत अध्ययन गराइँदेछ । भाषा आयोगले संस्कृत नागरिकको जीवनपद्धतीसँग जोडिएको विषय भएकाले पाठ्यपुस्तक र पाठ्यक्रम तयार पार्न सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा यसै शैक्षिक सत्रदेखि अध्यापन गराउन सकिने गरी संस्कृत भाषाको पाठ्यक्रम तयार पारेको छ । कक्षा एकका विद्यार्थीलाई पठाउन पुस्तकसमेत तयार भइसकेको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले तयार गरेको संस्कृत पाठ्यक्रमलाई शिक्षामन्त्री गिरिराजमणी पोख्रेल अध्यक्षताको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गत माघ २ गते नै स्वीकृत गरिसकेको छ । भाषा आयोगले सरकारलाई गरेको सिफारिसमा संस्कृतसँगै अन्य मातृभाषाका पाठ्यक्रम पनि तयार गर्न सुझाएको थियो । सोही सिफारिसअनुसार पाठ्यक्रम विकास केन्द्रले अवधि, मैथिली, भोजपुरी, गुरुङ, थकाली, थारू, माझी, पाली र भोटलगायत मातृभाषाका पाठ्यक्रम पनि तयार पारिसकेको छ ।
पूर्णाङ्क पनि थपियो
वि.सं. २०५८ अघि विद्यालयहरूमा कक्षा आठसम्म ५० पूर्णाङ्क राखी सरल संस्कृत भाषा पठनपाठन हुने गरेकोमा सरकारले यसपटक १०० पूर्णाङ्ककै पाठ्यक्रम तयार पारेको छ । द्वन्द्वका कारण पठनपाठन बन्द हुनुअघि कक्षा चारदेखि मात्रै सरल संस्कृत भाषाको पाठ्यक्रम समावेश गरिएको थियो । तर अब मातृभाषा नपढाउने स्थानीय तहले कक्षा एकदेखि नै संस्कृत पढाउनुपर्नेछ । संस्कृत अध्ययन सजिलो बनाउनका लागि सरकारले नेपाली र अंग्रेजीमा पनि पुस्तक तयार पारेको छ ।
निजीले पनि पढाउँदै
सामुदायिक विद्यालयहरुमा पढाई नभए पनि यतिखेर देशका ५० वटा निजी विद्यालयहरूले संस्कृत भाषा पढाइरहेका छन् । जियर फाउन्डेशनको सक्रियतामा निजी विद्यालयका लागि पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरिसकिएको छ भने देशभरका ५० विद्यालयमा पठनपाठन नै सुरू भइसकेको छ । फाउन्डेशनले सभ्य र सुसंस्कृत एवं नैतिकवान नागरिक तयार पार्न संस्कृत भाषा सहयोगी हुने भन्दै अभियान चलाइरहेको छ ।
विश्व नै आकर्षित
संस्कृत भाषाप्रति अहिले विश्वभरका भाषाप्रेमी र शिक्षालयहरू आकर्षित भइरहेका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०३४ भित्र संस्कृत भाषा प्रयोग गरिने कम्प्युटर बजारमा ल्याउने घोषणा गरिसकेको छ । संस्कृत भाषामा उच्चारण गरिएको ध्वनी अन्तरिक्षमा पनि परिवर्तन नहुने प्रमाणित गर्दै नासाले थप खोज र अनुसन्धानका लागि संस्कृत भाषा उपयोगमा ल्याउन लागेको हो ।
नासाले अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको जनाएको छ । पछिल्लो शताब्दीमा जर्मनी, बेलायत र अमेरिकाले प्राथमिकतामा राखी संस्कृत भाषा अध्ययन अध्यापन अघि बढाइरहेका छन् । अन्य भाषा राम्रो बनाउन चाहने भाषाअध्येताहरू पनि संस्कृत भाषा अध्ययनमा आकर्षित हुँदै आएका छन् । नेपालकै वाल्मिकी विद्यापीठमा अन्य विषय पढेका सैयौं विद्यार्थी संस्कृत भाषा अध्ययनका लागि भर्ना हुने गरेका छन् ।
सत्यपाटी ।