सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमण रोक्न यस्तो छ नेपालगन्ज उपमहानगरको रणनीति

बाँके । २३ जना कोरोना संक्रमित भेटिएपछि सोमवारदेखि तीन दिनका लागि निषेधाज्ञा छ, नेपालगन्ज उपमहानगरमा । नगरलाई मुख्य चुनौती छ संक्रमण रोक्नु । संक्रमणको फैलावटलाई रोकेर संक्रमितको चाँडो पहिचान गर्ने रणनीति बनाएको छ, उपमहानगरले ।

ट्रेसिङ, टेस्ट र आवतजावतमा रोकावटको उपायबाट संक्रमण रोक्ने रणनीति रहेको मेयर डाक्टर धवलसशम्शेर राणाले बताए । मुख्यगरी निषेधाज्ञाको पालना, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्ने योजना रहेको राणाले जानकारी दिए ।

सक्दो धेरै परीक्षण

निषेधाज्ञा जारी गर्नुको उद्देश्य नै परीक्षण बढाउनु भएको मेयर राणाको तर्क छ । संक्रमण रोक्न भएभरका उपाय लगाइने उनले बताए । ‘हामीलाई मात्रै होइन संसारलाई नै चुनौती छ । तर आत्तिनुपर्दैन, हामी भएभरको शक्ति प्रयोग गरेर संक्रमण रोक्छौं,’ उनले भने ।

उनले तीन दिनको निषेधाज्ञामा बढीभन्दा बढी परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा निषेधाज्ञा बढाउने वा हटाउने भन्ने रणनीति तयार हुने बताए । ‘हामी यो तीन दिनमा धेरैभन्दा धेरैको परीक्षण गर्छौं । संक्रमित थपिए फेरि निषेधाज्ञा थप्छौं,’ उनले भने, ‘जनजीवन ठप्प पारेर स्वास्थ्यकर्मी परिचालन गर्ने हो । जनतालाई केही दिन पुग्ने सामान किन्नुस् भनिसकेका छौं ।’

संक्रमण रोकथामका लागि प्रदेश र संघसँग समन्वयको अभाव नभएको उनको भनाई छ । ‘संघीय सरकारसँग पनि नियमित सम्पर्कमा छौं । प्रशासनबाट पनि राम्रो सहयोग छ । त्यस्तो कुनै चुनौती देखिएको छैन,’ उनले भने ।

द्रुत कन्ट्याक्ट ट्रेसिङ

संक्रमित बढ्न थालेपछि नगरको अर्को रणनीति हो द्रुत कन्ट्याक्ट ट्रेसिङ । संक्रमित देखिएको ठाँउमा चाहिने जति जनशक्ति परिचालन गरेर द्रुत ट्रेसिङको काम भइरहेको उनले बताए । हालसम्म १० जना संक्रमितलाई सोधपुछ गरी ट्राभल हिस्ट्री निकालिएको छ ।

‘हामीले ट्रेसिङमात्रै होइन द्रुत ट्रेसिङ कसरी गर्न सकिन्छ भनेर लागेका छौं । त्यसका लागि आवश्यक जनशक्ति परिचालित छ । अब अरु ७ जनाको पनि तत्कालै पत्ता लगाइहाल्छौं,’ राणाले भने ।

नाका सिल, लुकेर आउनेको खोजी

लकडाउपछि नेपालका छिमेकी देशसँग जोडिएका नाका बन्द छ । तर, अवैध बाटो हुँदै नेपाल प्रवेश गर्नेको कमी छैन । नेपालगन्जबाट नजिक छ रुपडिया नाका । मेयर राणाले नाका सिल गरिएकाले लुकिछिपी आउनेको खोजी भइरहेको बताए ।

लकडाउनको सुरुमा धेरै मानिसहरु अवैध बाटो हुँदै नेपालगन्ज प्रवेश गरेको रिपोर्ट आएको उनले सुनाए । तर, नाका क्षेत्रमा कडाइ गरिएपछि भारतबाट नेपालगन्जमा कोही आउन नसकेको उनको दाबी छ । ‘सुरुका दिनमा त लुकिछिपी मान्छेहरु नेपालगन्जमा नआएको होइनन् ।

तर, नाकामा कडाई गरिएपछि आएको भन्ने हाम्रो जानकारीमा छैन । आएको भन्ने खबर पाएमा तत्कालै क्वारेन्टाइनमा राख्नेदेखि परीक्षणसम्म गरिरहेका छौं,’ उनले भने । मेयर राणाले अबको योजना कसरी संक्रमण मुक्त बनाउने भन्नेमात्र रहेको बताए । उपमहानगरको सम्पूर्ण ध्यान नै कोरोनामा केन्द्रित भएको उनको दावी छ ।

संक्रमित क्षेत्रमा पीसीआरबाट मात्रै परीक्षण

तीन दिनको निषेधाज्ञामा बढीभन्दा बढी कोरोना परीक्षण गर्ने रणनीतिमा छ महानगर । तर, परीक्षणका लागि चाहिने पीसीआर किट भने जुटाउन सजिलो छैन । सोमवार बिहानसम्म नगरका १०५ जनाको कोरोना परीक्षण भएको छ । अहिले भेरी अस्पतालका ल्याबमा ३२० वटा मात्रै पीसीआर किट (आरएनए एक्स्ट्र्याक्सन किट) छ ।

संघीय सरकारले आइतवार २५० वटामात्रै किट पठाएको थियो । उपमहानगरले हजार भन्दा बढी किटको माग गरेको छ । संक्रमित क्षेत्रमा र्‍यापिड डाइग्नोसिस टेष्ट (आरडीटी) बन्द गरिएको छ । नगरका अरु क्षेत्रमा आरडीटी प्रयोग गरिने भए पनि संक्रमित भेटिएको क्षेत्रमा भने पीसीआर परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार ०९:४६