सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोरोनाको जिन अध्ययन गरिँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ । कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गरिन थालिएको जानकारी दिए । उनका अनुसार कोभिड–१९ का कारण अरू देशमा मानिसको ज्यान गइरहेको अवस्थामा नेपालमा भने सङ्क्रमितको अवस्थामा सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो ।

उक्त अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरेको छ । ‘अहिलेसम्मको अध्ययनले यहाँ कोभिड–१९ को लक्षण बिना नै सङ्क्रमण देखिएको छ । कुन चाहिँ जिन मानिसमा सङ्क्रमण भइरहेको छ,’ उनले भने, ‘त्यसैले भाइरसको कुन चाहिँ जिन नेपालमा बढी रहेको छ । त्यसको अध्ययन गर्न थालेका हौं ।’

परिषद्ले सङ्क्रमितहरुकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने हो । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड–१९ सम्बन्धित प्रयोगशाला सल्लाहाकार समितिका सदस्यसमेत रहेका खनालले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमित ८२ जनाको स्वाब सङ्कलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ । उनले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेसमेत बताए । जिन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उनको भनाइ रहेको छ ।

‘इटाली, वुहान र अमेरिकामा सङ्क्रमण देखिएका मानिस मरिरहेका छन् तर यहाँ त मरेका छैनन्’ उनले भने, ‘मानिसको मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) छैन । मान्छे देख्दा सामान्य छ तर सङ्क्रमण देखिएको छ । के रहेछ । यो जिनको कारणले हो ।’ मन्त्रालयले नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गरिनेछ ।

चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जिनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उनले सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ त्यो पत्ता लगाउने बताए । जिनको अध्ययनका लागि मन्त्रालयले काठमाडौँ विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा रहेका जेनेटिक ल्याबमा अनुसन्धान गरिनेछ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार ०८:४३