सूचनाको शक्ति - The Power Of Information

        

एसइई परीक्षा नलिएरै प्रमाणपत्र दिन प्याब्सनको प्रस्ताव

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले यसवर्षको एसइई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । कोराना भाइरसको त्रासका कारण गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा हालसम्म पनि हुन नसकेपछि व्याब्सनले यस्तो प्रस्ताव गरेको हो ।

‘परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुनेगरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुन्छ,’ प्याब्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यका लागि कानुनी बाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आवश्यक पहल गर्न पनि सरकारसँग ब्याब्सनले अनुरोध गरेको छ । प्याब्सनले विश्वका विभिन्न विश्वविद्यालय तथा विद्यालय परीक्षा बोर्डहरुले आन्तरिकरुपमा लिएको परीक्षालाई नै आधार मानेर विद्यार्थीहरुलाई उत्तीर्ण गराइसकेको पनि जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ११:५१