सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा कोरोना संक्रमित भेटिएपछि कर्णालीमा उच्च सतर्कता

सुर्खेत । प्रदेश नं ५ को बाँके नेपालगन्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ ।

भारतसँग सिधै जोडिएको बाँके नेपालगन्ज र त्यससँग जोडिएको कर्णालीमा पनि कोरोना जोखिम बढ्ने सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाएको हो । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोना प्रतिकार्यका लागि रणनीतिक ढङ्गबाट अघि बढ्ने तयारी भएको बताए ।

‘हामी यतिबेला सीमानाका र आवश्यकीय क्षेत्रका लागि स्वास्थ्य जनशक्ति तयार गरेका छौँ । यो प्रदेशको स्वास्थ्य अवस्था र जनशक्तिका विषयमा थप तयारी गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको बैठक बसालिएको छ,’ उनले भने, ‘स्वास्थ्य सेवालाई सशक्तिकरण गर्नेतर्फ हामी जोड दिइरहेका छौँ ।’

यहाँका हरेक नागरिकलाई आत्मानुशासित र सजग गराउन सचेतनाका कार्यक्रमलाई पनि अगाडि बढाइने उनले बताए । उनका अनुसार कोरोना प्रतिकार्यको रणनीतिक योजना अगाडि बढाउनका लागि आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठक बोलाइएको छ ।

सम्भावित जोखिम नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र जिल्ला अस्पतालकोतर्फबाट विभिन्न ठाउँमा जनशक्ति खटाउने तयारी भइरहेको र सीमा नाकामा कन्ट्र्याक ट्रेसिङलाई पनि बढाउन लागिएको उनको भनाइ छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सीमा नाकामा कडाइ गर्ने, जो जहाँ छन्, त्यही बस्ने व्यवस्थाका लागि पहल गर्ने, नागरिक आवतजावत रोक्ने र सीमा नाकामा परीक्षण बढाउने कार्यमा थप जोड दिइने बताए । कर्णाली सरकारले कोरोना महामारीबाट बच्न र सुरक्षित हुन कर्णालीवासीलाई अपिल गरेको छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १७:२१