काठमाडौं । सरकारले वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने गरी तयारी गरिरहेको छ । जसअनुसार वैशाख २५ गतेदेखि लकडाउनको मोडालिटी बदल्ने र सीमा नाका तथा हवाई उडान भने बन्द नै रहने प्रधानमन्त्रीको प्रस्ताव रहेको छ ।
जिल्लाहरुमा देखिएको जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमशः अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउनेबारे छलफल चलिरहेको एक मन्त्रीले जानकारी दिए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि आवश्यक रणनीति तयार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यद्यपि सरकारले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने पनि ती मन्त्रीले जानकारी दिए ।
मन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सरकारले मोडालिटी तयार गरे पनि यसलाई निर्णय गर्न भने बाँकी रहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयको अतिउच्च र उच्चजोखिमलाई पूर्णतया लकडाउन गर्ने र सामान्य र न्यून जोखिमयुक्त जिल्लाहरुमा आंशिक रुपमा लकडाउन गर्ने प्रस्तावका आधारमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन् ।
सत्यपाटी ।