सूचनाको शक्ति - The Power Of Information

        

प्रतिष्ठाको लडाईं बन्दै प्रदेश राजधानी, बुटवल कि दाङ ?


काठमाडौं । सरकारले प्रदेशको राजधानी तोक्ने तयारी गर्दा देशका विभिन्न स्थानमा प्रदेशको राजधानी आफ्नै क्षेत्रमा हुनुपर्ने भन्दै दवामुलक कार्यक्रम शुरु भएका छन् । राजधानी कहाँ राख्ने भन्नेमा सबैभन्दा विवाद प्रदेश नम्बर ५ मा देखिएको छ । रुपन्देहीको बुटवल या दाङमा प्रदेशको राजधानी राख्ने भन्नेमा एउटै दलका नेताहरुबीचपनि विबाद देखिएको छ ।
दाङ र बुटवलको विवादमा कपिलबस्तुले पनि प्रदेश नम्बर ५ को राजधानीको दावी गरिरहेको छ । बुद्धभूमी कपिलवस्तुमै प्रदेशको राजधानी राख्नुपर्ने भन्दै शुक्रवार मैनबत्ति जुलुसको आयोजना भयो । भौतिक पूर्वाधारको हिसावले बुटवल उपयुक्त रहेको र दूरीको हिसावले दाङ उपयुक्त हुने ठानिएको छ । नबलपरासीको दाउन्ने देखि बर्दिया तथा रुकुमको केन्द्र दाङ पर्ने भएकोले पाँच नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त हुने दाङ मै प्रदेशको राजधानी राख्नु पर्छ भन्नेहरुको तर्क छ ।
नेकपा एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल लगायतका नेताहरु भने प्रदेश नम्बर ५ को राजधानी बुटवल बनाउनु पर्ने लविङमा छन् । नेता पौडेल भोतिक पूर्वाधार लगायत सबै दृष्टिले वुटवल राजधानीका लागि उपयुक्त भएको बताउँछन् । गुल्मी, पाल्पा र अर्घाखाँचीका नेताहरु पनि प्रदेशको राजधानी बुटवल बनाउनु पर्ने पक्षमा छन् । प्रदेशको राजधानी कहाँ राख्ने र नाम के राख्ने भन्ने बिषय प्रदेश सभाले निर्णय गर्ने बिषय हो । तरपनि दलका नेताहरु अहिले नै अस्थायी राजधानी तोकिएमा त्यसैलाई स्थायी बनाउन सकिने दाउमा छन् ।
माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा, एमाले स्थायी समिति सदस्य शंकर पोखरेल लगायतका नेताहरु भने प्रदेशको राजधानी दाङ बनाउनु पर्छ भन्दै लागेका छन् । एमाले नेता पोखरेल सबै किसिमले दाङ प्रदेशको राजधानीका लागि उपयुक्त भएको बताउँछन् । विनाविभागिय उपप्रधानमन्त्री समेत रहेका महराले प्रदेशको राजधानी दाङ नै हुने बताएका छन् ।
सरकारले बुटवललाई प्रदेशको राजधानी तोक्न लागेको भन्दै गत आइतवार दाङका स्थानीयले घोराइमा जनदवाव र्यालीको आयोजना गरे । प्रदेशको राजधानी स्थापनाका लागि सरकारले गठन गरेको अध्ययन कार्यदलले केही दिन पहिले मात्र रुपन्देहीमा प्रदेश राजधानी स्थापनाका लागि आवश्यक पूर्वाधारको अध्ययन गरेको थियो । कार्यदलले प्रदेश प्रमुख र मुख्यमन्त्रीका कार्यालय, मन्त्रालय, सचिवालय, पहिलो बैठक बस्ने स्थानलगायतका सबै पूर्वाधार रुपन्देहीमा पाइएको टोलीले बताएको थियो ।
भौतिक पूर्वाधार अध्ययन गर्न स्थलगत भ्रमणमा रहेका क्षेत्रीय प्रशासन कार्यालय पोखराका सहप्रशासक बाबुराम गौतमले गएको शुक्रबार र शनिवार रुपन्देहीका बुटवल र भैरहवाका विभिन्न सरकारी तथा अर्धसरकारी कार्यालयका भवन अवलोकन गरेर ती कार्यालयको अध्ययनपछि बुटवलमा भनेका थिए, ‘सरकारले तत्काल रुपन्देहीलाई अस्थायी राजधानी तोकेमा त्यसका लागि प्रयाप्त पूर्वाधार रहेको पाइयो ।’
पूर्वाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको टोलीले बुटवल, भैरहवा र दाङमा स्थलगत अध्ययन गरिरहेको छ । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका प्रमुख दावेदार एमाले नेता पोखरेलले दाङलाई प्रदेशको राजधानी बनाउने बिषयलाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । दाङलाई प्रदेशको राजधानी बनाउने बिषयमा माओवादीका प्रभावशाली नेताहरु महरा, बर्षमान पुन र जनार्दन शर्मा एकठाउमा छन् ।
दाङलाई प्रदेशको राजधानी बनाउन माग गर्नेहरुले पाँच नम्बर प्रदेशको पूर्व नवलपरासीदेखि पश्चिममा बर्दियासम्मको भूगोलको दाङ मध्य भागमा पर्ने र सुरक्षाको रणनीतिक दृष्टिकोणबाट पनि दाङ उपयुक्त रहेको तर्क गर्छन । दाङ उपत्यका भारतको सीमासँग नजोडिएको र भारत जानका लागि देउखुरी उपत्यका भएर जानुपर्ने भएकोले रणनीतिक सुरक्षाका दृष्टिले पनि दाङ राजधानी बन्न उपयुक्त रहेको एमाले नेता पोखरेल दावी गर्छन् ।
एमाले उपमहासचिव विष्णु पौडेलले बुटवललाई प्रदेशको राजधानी नतोकिए विगतको जस्तै आन्दोलन उठ्ने चेतावनी दिइसकेका छन् । प्रदेश नम्बर ५ बाट तराईका जिल्ला अलग गर्ने निर्णयको विरुद्धमा बुटवल केन्द्रीत आन्दोलन भएको थियो । प्रदेशको राजधानी तोक्ने बिषयमा नेकपा एमालेका नेताहरुबीच नै विबाद छ । यो विबाद केन्द्रसम्म पुग्ने देखिएको छ ।

प्रकाशित मिति : ७ पुष २०७४, शुक्रबार ११:३०