सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको सम्पर्कमा रहेका ८३ जनाको ‘थ्रोड स्वाब’ संकलन

बाँके । नेपालगन्जमा शुक्रबार कोरोना संक्रमित व्यक्ति भेटिएपछि ‘थ्रोट स्वाब’ संकलनमा तीव्रता दिइएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषका परिवारका सदस्य, आफन्त तथा उनको सम्पर्कमा रहेका व्यक्तिहरुको ‘थ्रोट स्वाब’ संकलनमा तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनले शनिबार मात्रै संक्रमित पुष्टि भएका वृद्धका घरपरिवार आफन्त र दैनिक सम्पर्कमा रहेका ८३ जनाको स्वाब संकलन गरिएको छ । जुलाहनपूर्वामा मात्रै संक्रमितको सम्पर्कमा पुगेका ७८ जना भेटिएका छन् । यो संख्या अझै बढ्न सक्ने जनाइएको छ । संकलन गरिएका सबैको रिपोर्ट भोलीसम्म आइपुग्ने पोकल पर्सन श्रेष्ठले बताए । उनका अनुसार जुलाहनपूर्वालाई क्वारेन्टाइनको रुपमा परिणत गरिएको छ ।

वडा नं. ५ र ११ मा रहेका उनका परिवारका सदस्य र आफन्त गरी आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा लिइएको छ । स्वाब लिएका घरपरिवार, आफन्त तथा दैनिक सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट आउने बेलासम्मका लागि टोललाई क्वारेन्टाइन बनाइएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । त्यसपछि आउने रिपोर्टका आधारमा निर्णय हुने उनले बताए ।

उनका अनुसार रिपोर्ट पोजिटिभ आए आइसोलेसन राख्ने र नेगेटिभ आए १४ दिनसम्म कसैसँग सम्पर्क गर्न नदिएर राख्ने व्यवस्था मिलाइएको छ । भेरी अस्पतालमा कोरोना जाँच शुरु भएपछि जाँचमा तीब्रता दिइएको छ । दैनिक ५० बढीको स्वाब निकालिने काम भइरहेको छ । भेरीमा हालसम्म ३२८ जनाको स्वाब आइपुगेकोमा २५६ जनाको रिपोर्ट आएको छ । त्यसमा एकजना पोजिटिभ छन् । बाँकी ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

डीएसपी रोडमा घर भएका संक्रमित व्यक्ति वडा नं. ८ को जुलाहनपूर्वामा रहेको मस्जिद र मदरसामा दैनिक आवतजावत गर्थे । सुरक्षाकर्मीले चारैतिरबाट पहरा दिएका छन् । टोलभित्र कसैलाई जान दिइएको छैन भने टोलभित्रका मानिसलाई बाहिर सम्पर्क गर्नमा रोक लगाइएको छ । संक्रमित वृद्धको ‘ट्राभल हिस्ट्री’ खोज्ने काम भइरहेको छ । स्थानीय प्रशासनले भने उनी एक महिनाअघि भारतबाट आएको आशंका गरेको छ ।

भारतबाट आएरु महेन्द्र बहुमुखी क्याम्पसमा तयार गरिएको क्वारेन्टाइनमा बसेको अनुमान गरिएको छ । तर, पुष्टि भने भइसकेको छैन । संक्रमितले आफू दुई महिनायता देश छाडेर बाहिर नगएको दाबी गरे पनि सो बारे थप पुष्टी हुन बाँकी छ । ती व्यक्ति सो क्वारेन्टाइनबाट भाग्नेमध्येका एक रहेको आशंका गरिएको छ । संक्रमित व्यक्ति घरबाट एक किलोमिटर दूरीमा रहेको मदरसामा पढाउने ‘मौलाना’ हुन् ।

महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आवतजावत गर्दै आएका थिए । त्यसैले उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको संख्या ठूलो हुनसक्ने पनि स्थानीय प्रशासनले आंकलन गरेको छ । प्रहरीले बाँकेका चार जोखिमयुक्त क्षेत्रलाई सिल गरेर संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजीकार्य अर्थात् ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिरहेको बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १८:२२