सिमकोट । अध्ययन, ब्यापार र अन्य कामको शिलशिलमा जिल्ला बाहिर रहेकै समयमा लकडाउनमा परि नेपालगंज र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरुको हवाई मार्गबाट उद्धार सुरु भएको छ ।
हुम्लाबासीको मागलाई मध्यनजर राख्दै पर्यटन मन्त्रालयले नेपालगंज र सुर्खेतमा लकडाउनमा फसेका हुम्लाबासीलाई हवाई सेवाबाट उद्धार गर्ने निर्णय गरे अनुसार हुम्लाका नागरिक ओसार्ने काम शनिबारबाट सुरु भएको हो । हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नेपालगन्ज र सुर्खेत फसेका नागरिकको उद्धार कार्य सुरु भएको समिट एयर हुम्लाका इन्चार्ज गोबिन्द लामाले बताए ।
शनिबार पहिलो फ्लाइटमा नाम्खाका नागरिक ओसार्न सुरु भएको छ । उद्धार गरिएका यात्रुहरु सबै सिमकोट बिमान स्थलमा स्वास्थ्य परिक्षण (ज्वरो नाप्ने) गर्न सुरु भएको त्यसपछि अन्य दुई गाउँपालिका सिमकोट र खार्पुनाथका नागरिकहरु ओसारिनेछ । नेपालगन्जमा रहेका ४९५ र सुर्खेतबाट ४०० गरि ८९५ नागरिक ओसार्न नीजि एयरलाइन्सहरुले सुरु गरेका छन् ।
यीमध्ये बिधार्थी, अपांग अशक्त, साठी बर्ष माथिका नागरिकलाई प्राथमिकता दिएर ओसार्न सुरु भएको छ । बिहान दश बजेसम्म छ फ्लाइट यात्रु ओसारी सकिएको छ । यो क्रम जारी रहेको छ । यसका लागि सीतामा तीन वटा, तारा र समिट एयरका एक एक वटा जहाजले यात्रु ओसार्न सुरु गरेका हुन् । नेपालगन्ज र सुर्खेतबाट यात्रुहरु हुम्ला पुगेपछि आआफ्ना गाउँपालिकामा गएर क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
पालिका केन्द्रमा पनि धेरै मानिस बाहिरबाट गएको कारण भिडभाड हुने भएपछि वडा वडा र घर घरमा क्वारेन्टाइन निर्माण गरि बस्ने ब्यबस्थाको तयारी भैरहेको छ । जिल्ला बाहिर फसेका नागरिकहरुलाई हवाई मार्गबाट उद्धारका लागि एक महिना अगाडीदेखि माग हुदै आएको थियो । हुम्ला जिल्लाका जनप्रतिनिधिहरुको आग्रहलाई पर्यटन मन्त्रालयले सडक सञ्जाल नजोडिएका हिमाली जिल्लाका लागि हवाई मार्गबाट फसेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो । जिल्लामा भने ठुलो संख्यामा मानिसहरु भित्रिएपछि त्रास बढेको छ ।
सत्यपाटी ।