सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कोरोना संक्रमित भेटिएपछि सुरक्षा निगरानी कडा

बाँके । बाँकेको नेपालगन्जमा कोरोना पोजेटिभ भेटिएको छ । पछिल्लो समय स्वाब परीक्षणलाई तीब्रता दिएसँगै नेपालगन्जमा शुक्रबार कोरोना पोजेटिभका विरामी भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीद्वारा जारी सूचनामा नेपालगन्जका एकजनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

योसँगै बाँकेको नेपालगन्जमा रहेका एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै रुपन्देही निवासी एक २५ वर्षीय पुरुषमा समेत कोरोना भाइरस रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीद्वारा जारी उक्त सूचनामा उल्लेख छ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेको छ ।

नेपालगन्जमा रहेका मस्जिदहरुमा केही दिनदेखि व्यापकरुपमा स्वाब परीक्षण थालिएको छ । एकजना व्यक्तिमा किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भेरी अस्पतालमा रहेको पिसीआरबाट परीक्षण गर्दासमेत पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालको ल्यावमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाएको थियो ।

संक्रमित ब्यक्ति भेटिएपछि स्वास्थ्यकर्मी सम्मलित जिल्लास्थित उच्च सुरक्षा समितिको आपतकालिन बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वमा उक्त समितिको आपतकालिन बैठक बसेको हो । कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रहरीले यहाँका मस्जिद, मन्दिर लगायतका धार्मीक संस्थाहरुमा निगरानी बढाएको छ ।

प्रहरी श्रोतका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा यतिबेला नेपालगन्जका मस्जिदमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । माथिबाटै मस्जिदमा निगरानी बढाउन आदेश आएपछि विहानैदेखि सुरक्षाकर्मी खटाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्लास्थित उच्च स्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना भाइरस संक्रमण भएको आशंकामा रहेका ब्यक्तिलाई आइसोलेशनमा राखिएको छ । स्वास्थ्य सामाग्रीसहितको टोली नेपालगन्जको उक्त मस्जिदमा रहेका कोरोना भाइरस आशंकित ब्यक्तिलाई आइसोलेसनमा राखेको छ । खजुरास्थित क्यान्सर अस्पतालमा निर्मित आइसोलेशन कक्षमा राखिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १५:५५