एकाविहानै उज्यालो नहुँदै
देविस्थान मन्दिरमा बाँस बसेका चराहरु
विहानै आफ्नो बाटो नलाग्दै
खुट्टामा फाटेका चप्पल
शरिरभरि ठाउँठाउँमा टालेका लुगाहरु लगाएर
हातमा हतौडा र फाँटेको छाता लिएर
बाउली खोलाको किनारमा गिट्टी कुट्नु
तिम्रो रहर थिएन जलविरे दाई
मात्र पेट पाल्नका लागि
कहिले गिट्टी कुटेको पैसासमेत नपाउँदा
मनमा झिनो आस हुन्थ्यो
उदारो दिएको गिट्टीको पैसा आउने आसमा
दिन गन्दै बाटो हेथ्र्याै
अचेल धेरै दिन भो
कोरोनाका कारण तिम्रो मजदुरीसमेत खोसिएको छ ।
ति हातहरुले आराम त पाएको छ
तै पनि तिमीलाई लामो समयसम्म
बन्द कोठाभित्र बस्दा
गिट्टी फुटाउन नपाउदा उकुसमुकुस भएको होला
आज मजदुर दिवस, सायद तिम्रो पेट पनि भोको होला
उसो त तिमीजस्तै धेरै मजदुर, सञ्चारकर्मीहरुको पीडा पनि
उस्तै छ जलविरे दाई
मिडियाका मालिकहरुले काम गर्ने सञचारकर्मीलाई
आफ्नो मजदुरसमेत नसम्झने
यो मेरो देशमा लोकतन्त्र गणतन्त्र आए के भयो
सबैका पीडा उस्तै छन्
मजदुरका नाममा राजनीति गर्नेहरुलाई
मजदुर दिवसको शुभकामना ।
१९ वैशाख २०७७
बझाङ
रमेश केसी, सञ्चारकर्मी ।