काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट हालसम्म विश्वभर ३१ लाखभन्दा बढी मानिसहरु संक्रमित बनेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १० लाखभन्दा बढी संक्रमित हुँदा ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकासँगै इटाली, स्पेन, फ्रान्स, बेलायत, जर्मनी लगायतका देश कोरोनाको महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यसैगरी छिमेकी देश भारतमा पनि कोरोना भाइरसका संक्रमितको संख्या २९ हजारभन्दा बढी पुगेको छ भने ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् । भारतको तुलनामा भने नेपालमा कोरोना भाइरसको संक्रमण निकै कम देखिएको छ ।
हालसम्म नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ भने यीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । यूरोपेली मुलुकहरुमा जस्तो नेपालमा केस नफैलिँदा वा संक्रमितको संख्या धेरै नदेखिँदा विभिन्न प्रश्न वा जिज्ञासा उठ्न थालेका छन् । यही विषयलाई उठाएर कतिपय विज्ञहरुले नेपालीहरुको रोग प्रतिरोधी क्षमता बलियो भएकोसमेत बताइरहेका छन् ।
विज्ञहरुले भने जस्तै नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकै हो त ? कि नेपालीकहाँ पुग्ने गरेको भाइरसको स्ट्रेन नै कमजोर हो ? कतै नेपालमा भइरहेको टेष्ट वा ट्याकिङ कमजोर त छैन? किन केसहरु फैलिएका वा विरामीहरुको संख्या धेरै देखिएको छैन ? के कारणले विरामीहरु कडा रोगबाट ग्रसित भएका छैनन् ? पहिल्लो समय यस्ता प्रकारका विभिन्न प्रकारका प्रश्नहरु सबैको उत्पन्न हुन थालेका छन् ।
नेपालमा सुरुमा जनवरीको २३ (पुस)मा पहिलो केस पत्ता लागेको थियो । केस पत्ता लागेसँगै अन्य व्यक्तिहरु पनि संक्रमित भएको हुन सक्ने अनुमान गरिए पनि कोही संक्रमित भेटिएनन् । पहिलो केसपछि दुई महिना ‘साइलेन्ट’ नै भयो । अरु संक्रमित नभेटिँदा स्वास्थ्यप्रति शंका गर्न थालियो । धेरैले विरोध गरे, ‘ल्याबमै समस्या छ ।’ सरकारले विभिन्न आरोप खेप्दै गर्दा फेरि एकपटक चैत १२ गते दोस्रो संक्रमित भेटिए ।
त्यसपछि तेस्रो, चौथो, पाँचौ गर्दै ५४ जना संक्रमित फेला परे । संक्रमित भएका व्यक्तिहरु कहाँबाट आए, कहिले आए, कता गए, व्यक्तिमा लक्षण कस्तो छ भनेर विवरण संकलन गरेर अध्ययन तथा अनुसन्धान गर्ने काम गरिरहेको छ, इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले । महाशाखाले अहिलेसम्म गरेको अध्ययनमा कोरोना भाइरसको संक्रमण देखिएका ५४ जनामध्ये ५ जनामा मात्रै संक्रमणको लक्षण देखिएको छ ।
महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार ३ जनालाई ज्वरो आएको थियो भने अन्य दुई जनामा खोकी देखिएको र स्वास फेर्न गाह्रो भएजस्तो दखिएको थियो । बाँकी ४९ जनामा कुनै लक्षण देखा नपरेको डा पाण्डेले बताए । उनले भने, ‘अरु सबैलाई हामीले ट्रेसिङ गरेका हौँ । हामीले पनि यी सबै प्रश्नको उत्तर खोजिरहेका छौँ । नेपालमा भाइरसको संक्रमण किन बढ्दो छैन ।’ यो अवस्थामा सबै जना अन्दाजको भरमा बोलिरहेको डा.पाण्डेले बताए ।
उनका अनुसार यसमा यी कुराले फरक पार्न सक्छन् । भाइरससँग लड्न सक्ने क्षमता, भाइरस कमजोर र वातावरण गरी यी तीन वटा ‘कम्पोनेन्ट’ले महत्वपूर्ण भुमिका खेल्ने गर्छ । तर नेपालीहरुमा रोगसँग लड्ने क्षमता बलियो छ भन्ने हो भने पनि विदेशमा थुप्रै नेपालीहरु संक्रमित हुनुका साथै तीमध्ये कतिपयको मृत्युसमेत भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसको असर उमेर पुगेका वा दिर्घ रोगीहरुलाई धेरै देखिएको छ ।
नेपालमा पनि दम, मुटु सम्बन्धी रोग भएका, उच्च रक्तचाप भएका व्यक्तिहरु संक्रमित भए । तर उनीहरु निको भएर घर फर्किसकेका छन् । उनीहरुमा संक्रमणको कडा रुप देखिएन । यसो भइरहँदा भाइरस कमजोर हो कि भन्ने धेरैलाई लागेको उनले बताए । ‘यो बिल्कुलै नयाँ भाइरस हो । नेपालमा पहिलो पटक संक्रमण देखिएका व्यक्ति चीनको वुहानबाट नेपाल आएका थिए । ती व्यक्तिमा फरक खालको जीन देखियो । हामी ‘फाइलोजेनेटिक’ भन्ने गछौँ,’ उनले भने ।
उनका अनुसार जस्तो व्यक्तिका बुवा, आमा, छोरा, छोरी, नाति, नातिनी भए जस्तै भाइसरको ‘फ्यामिली ट्री’ बनाउने चलन हुन्छ । उनले भने, ‘हाम्रो भाषामा ‘फाइलोजेनेटिक एनलाइसिस्’ भन्ने गर्छौँ । यसो गर्दा वुहानबाट आएको व्यक्तिमा भाइरसको संक्रमण धेरै टाढा गएको देखिएको छ ।’ पहिलो भाइरसको जीन पत्ता लगाएर उनमा भेटिएको फरक खालको जीनबारे अमेरिकी जर्नलमा प्रकाशित भइसके पनि पछाडि भेटिएका संक्रमितहरुमा भने ‘जेनेटिक मेटेरियल’ हेर्न नपाएको उनले बताए ।
उनले भने, ‘पहिलो केसपछिको व्यक्तिहरुमा ‘जीनेटिक एनलाइसिस’ गर्न पाएका छैनौँ । जसलाई हामी ‘डिएनए’ भन्ने गछौँ । त्यो हेर्न पाएको भए थाहा हुन्थ्यो । मेडिकल ट्रममा ‘जीन बैँक’ भन्ने हुन्छ । कुनै पनि भाइरसको सिकोइन्स हुन्छ, डिएनएको अध्ययन ग¥यो भने त्यसलाई त्यहाँ डिपोजिट गर्नुपर्ने हुन्छ । त्यसका लागि त्यसको नम्बर हुन्छ । जीन र नयाँ भाइरसलाई त्यसैसँग ‘म्याच’ गरेर हेर्ने गरिन्छ । त्यही कुरा म्याच गरेर हेर्दा कति कुरा फरक आयो । जसमा फेरि प्रोटिनको पनि ‘स्टक्चर’ हुन्छ । त्यसमा के ‘चेन्ज’ आयो । वा त्यसले के परिर्वतन ल्यायो भनेर हेर्ने हो ।’
यसो गर्नका लागि नेपालमा प्रविधि नभएको उनले बताए । यसैका बारेमा अनुसन्धान गर्नका लागि अहिले महाशाखा अन्तर्गत ‘किल्निकल डिसेन एनालाइसिस्’ भन्ने टिम बनेको छ । विभिन्न विभागका विशेषज्ञ राखिएको छ । डा. पाण्डेका अनुसार सबै विशेषज्ञ बसेर पहिला एनलाइसिस् गर्ने काम गरिन्छ । विरामीहरुमा साँच्चै समस्या आयो कि आएन, उक्त व्यक्तिमा अन्य समस्या के–के थिए । यो सबै कुराको विस्तृत ‘एनलाइसिस्’ गर्दै उनीहरुले सबै कुरा पत्ता लगाएपछि मात्रै के हो भनेर भन्न सकिने उनले बताए ।
अहिलेको अवस्थामा संक्रमण कम देखिए पनि पछि बढ्न सक्ने उनले बताए । उनले भने, ‘यसको प्याट्रन के देखिएको छ भने पहिला माइल्ड देखिने त्यसपछि ह्वात्त बढ्ने ठूलो समस्या आउने पनि हुन सक्छ ।’ कोरोना भाइरसको ग्लोवल साइन अनुसार विश्व स्वस्थ्य संगठनले भन्ने गरेको छ, ‘एक सय जनालाई कोरोना भाइरस भए पनि ९७ प्रतिशतलाई माइल्ड सिम्टम्स (सामान्य लक्षण) देखिने गर्छ, भने ३ प्रतिशतलाई मात्रै अस्पताल नै राख्नु पर्ने वा चिकित्सकको सहयोग चाहिने खालका व्यक्तिहरु हुने गर्छन् ।’
चिकित्सकका अनुसार संक्रमित भएका ८० प्रतिशतलाई कुनै उपचार चाहिँदैन । बाँकी २० प्रतिशतमा पनि १७ प्रतिशतलाई सामान्य रुघाखोकी, ज्वरो आएर सिटामोल खानुपर्ने भए पनि अस्पताल नै भर्ना गर्ने स्थिति छैन र तीन प्रतिशतलाई अस्पतालमा राख्नुपर्ने, भर्ना गर्नुपर्ने, उपचार सेवा दिनुपर्ने हुन्छ । नेपालको प्रसङ्गमा भने संक्रमण देखिएका व्यक्ति कम उमेरका छन् । ६० वर्षभन्दा कम उमेरका मानिसलाई भाइरस संक्रमणका असर कम हुने गर्छ । तर केही ६० वर्ष नाघेका व्यक्ति संक्रमित भए, उनीहरुमा अन्य धेरै रोग भए पनि उक्त व्यक्तिहरुमा त्यस्तो कडा खाले लक्षणको विकास नभएको मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा.खेम कार्कीले बताए ।
‘यसको पछाडि नेपालीहरुमा अलौकिक शक्ति छ भनेर पनि भन्न मिल्दैन । यसका लागि अनुसन्धान हुन जरुरी छ । तर नेपाल मात्रै होइन, नेपाल जस्तै अल्पविकशित मुलुकहरुमा जहाँ गरिब मानिसहरुको संख्या धेरै छ,’ डा. कार्कीले भने, ‘त्यस्तो देशहरुमा कोरोना भाइसरको संक्रमण कम देखिएको छ । अर्थिक हिसाबले कमजोर वर्गहरुमा यसको संक्रमण कम भएको जस्तो देखिन्छ । यसको कारण भने अहिलेसम्म पनि थाहा हुन सकेको छैन ।’ डार्. का अनुसार नेपालीमा छुट्टै प्रकारको जीन वा प्रतिरोधात्मक क्षमता भएर संक्रमण कम देखिएको भन्ने चाहि होइन ।
किनभने विदेशमा पनि थुप्रै नेपाली संक्रमित भएका छन् र मृत्यु पनि भइसकेको छ । तर नेपालीहरुको आनिबानी ‘लाइफ स्टाइल’, संस्कृतिले भने धेरै प्रभाव पारेको हुन सक्ने उनले बताए । ‘नेपालमा अहिलेबाट नभएर पहिल्यैबाट हात धोए पनि खाना खाँदा फेरि हात धुने बानी छ । कोही व्यक्तिलाई भेट्दा उसलाई अँगालो हाल्नुको साटो नमस्कार गर्ने चलन परापूर्वकालदेखि नै अँगाल्दै आएका छौँ’, उनले भने, ‘अर्को कुरा यहाँ जति व्यक्तिमा संक्रमण देखिएको छ । ति सबैलाई घरमै छोडेको भए, सायद उनीहरुलाई गाह्रो भएर वा सिकिस्त भएर धेरै दिन अस्पतालमा भर्ना गरी औषधि चलाउनु पर्ने पनि हुन सक्थ्यो हो । उनीहरुलाई तुरुन्त अस्पतालमा ल्याएको हुँदा धेरै कडा संक्रमण हुन नदेखिएको हुन सक्छ ।’
तर पनि ठ्याक्कै यही कारण भनेर भन्न नसकिने उनले बताए । त्यस्तै नेपालमा टेष्ट कम भएको भन्ने कुरामा भने शंका गर्नु पर्ने अवस्था नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए । उनले भने, ‘यदि नेपालमा परीक्षण राम्रोसँग भएको छैन भने पनि यसको असर देखिनु पर्ने हो । कडा लक्षण देखिएर तीन प्रतिशत व्यक्तिहरु अस्पताल पुग्नु पर्ने हो । तर त्यस्तो खालको विरामी अहिलेसम्म पनि अस्पताल पुगेको छैन । मानिसहरु मर्नुपर्ने हो । अहिलेसम्म त्यस्ता देखिएको छैन ।’
विश्वभर नै कोरोना भाइरसबाट बच्नका लागि हात धुनु नै प्रमुख कारण मानिएको छ । नेपालमा भाइरसको संक्रमण नफैलिनुको मुख्य कारण यो पनि हुन सक्ने डा. पुनले बताए । उनले भने, ‘यसैलाई आधार मान्ने हो भने हाम्रो परम्परामा जानेर होस् वा नजानेर होस् धेरै पटक हात धुने चलन छ । हाम्रो खानपान (खानेकुरा) पनि अन्य देशभन्दा भिन्न छ । यहाँ वातावरणको कुरा पनि आउँछ । अन्य देशको तुलनामा नेपालमा घामको मात्रा फरक छ ।’ डा. पुनका अनुसार कोरोना भाइरस नेपालका आफैमा नौलो भाइरस भने होइन ।
‘मैले एउटा अनुसन्धानमा पनि पढेको थिएँ । उक्त अनुसन्धानमा भेट्न सकिन्छ, हिम्यूनो कोरोना भाइरस (मानिसमा देखिने कोरोना भाइरस) नेपालमा छ,’ उनले भने, ‘तर यो प्रकोप नै हुने खालको भने होइन, यसमा सामान्य संक्रमण हुने जस्तो कुनै व्यक्तिलाई स्वास प्रश्वासको समस्या देखिने र अस्पताल भर्ना गर्नु पर्ने अवस्था हुन सक्ने मैले पढेको थिएँ ।’ यसकारणले कतै न कतै नेपाली ‘एक्सपोजर’ भइरहने रहने हो कि जस्तो देखिएको उनले बताए । यसरी ‘एक्सपोजर’ भएको कोरोना भाइरस (कोभिड–१९) रोगको नाम भएको उनले बताए ।
उनले भने, ‘तर यो भाइरसको नाम सार्स सिओभी–२ हो । सार्स सिओभी–२ भाइरस एउटै फ्याम्लीमा अर्को प्रजातिको पनि नेपालमा देखिरहेको हुनाले जसले प्रकोप खासै गराउँदैन । तर देखिरहेको हुनाले कहिले काही ठ्याक्कै यसलाई रोक्छ भन्ने छैन । तर कताकता कहिले काहीँ त्यसले पनि केहीहदसम्म मानिस सिधै आइसियूसम्म नजानु पर्ने अवस्था सृजना गरेको हुन सक्छ ।’ उनका अनुसार सामान्य रुघाखाकी देखिएपछि कुनै पनि व्यक्ति चेकजाँचका लागि अस्पताल पुग्दैनन् । उनीहरु कडा भएपछि मात्रै अस्पताल पुग्ने गर्छन् ।
‘केही न केही त्यो चिज छ जसले यसको गतिमा नियन्त्रण गरिरहेको छ । जसरी पश्चिमा देशहरुमा मानिसहरुको मृत्यु भइरहेको छ, त्यो स्तरमा यहाँ मानिसहरुको मृत्यु नहुन सक्छ’, डा. पुनले भने । तर डा. पाण्डेका अनुसार भाइरस दुई खालको हुन्छ, डिएनए र आरएनए । यो आरएनए भाइरस भएको उनले बताए । उनले भने, ‘आरएनए भएका कारण कुनै पनि सतहमा धेरै बेर बस्न सक्दैन । त्यही भएर हामीले पटक पटक हात धुने, नमस्कार गर्ने, दूरी कामय (सोसल डिस्ट्यान्सिङ्) गर्ने सल्लाह दिएका छौँ । असको अर्थ कहि गएर छोइयो भने कुनै सतहमा टासियो भने आँखा, नाक, मुख कहीँबाट प्रवेश गरेर शरीरभित्र पसेर संक्रमित हुनबाट जोगिनु हो ।’
डा. पुनले आफूले गरेको अध्ययनका बारेमा सुनाए, ‘जब सन् २००९ मा स्वाइन फ्लुलाई महामारी घोषणा गरिएको थियो । त्यो महामारीको बारेमा मैले अध्ययन गरे । त्यसमा अपवादका रुपमा बाहेक दक्षिण एसिया र अफ्रिकी मुलुकमा तुलनात्मक रुपमा युरोप र अमेरिकामा भन्दा कम मानिसहरुको ज्यान गएको देखिएको थियो । योसँग किन तुलना गरेँ भने यसको सर्ने तरिका पनि एउटै र यसका लक्षणहरु पनि धेरै मिल्दा जुल्दा छन् । भाइरस फरक भए पनि यसको सर्ने तरिका र लक्षण एकै भएका कारण कम फैलिन सक्छ ।’ विश्वमा कोरोना भाइरस संक्रमित सकिनसकि अस्पताल पुग्ने गरेका छन् ।
नेपालमा उनीहरुलाई खोजेर अस्पताल पुर्याउनु पर्ने अवस्था भएको उनले बताए । ‘संक्रमित हुन सक्छन् तर यो धेरैलाई भएको छैन । वीरगञ्जमा डिस्चार्ज भएका छन्, उनीहरु मध्ये एक जनामा ज्वरो खोकी लागेको देखिएको छ भने बाँकी सबैलाई सँगै हुँदा ‘कन्ट्याक ट्रेसिङ’ गरेर परीक्षण गर्दा पोजेटिभ देखिएको हो’, उनले भने,‘जसका कारण उनीहरुलाई पनि अस्पतालमा राखिएको हो । उनीहरुलाई कोभिड–१९ को विरामी भन्न मिल्दैन । उनीहरु संक्रमित मात्रै हुन् ।’ ‘नेपालमा अहिलेसम्म कडा खालको कोभिड–१९ देखिएको छैन’, उनले थपे । सर्तकता अपनाउन सके कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने चिकित्सकहरुले सुझाव दिँदै आइरहेका छन् ।
Design : Aarush Creation
सत्यपाटी ।