बाँके । बाँकेमा बन्दाबन्दी (लकडाउन)मा वितरण गरिएको राहत वितरण विवादित बन्दै गएपछि जिल्ला समन्वय समितिले चासो देखाएको छ । मतदाता, पार्टी निकटका व्यक्ति र पहुँचका आधारमा रातह वितरण भइरहेको गुनासो बढेसँगै समितिले चासो देखाएको छ ।
समितिले राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउँदै आम नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न आश्वय रहेको भन्दै जिल्लास्थित सरोकारवालालाई बोलाएर छलफल गरेको छ । छलफलमा सहभागी प्रदेश ५ का सांसद विजय यादवले राहत वितरण चुनावी प्रचारप्रसार जस्तो भएको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।
उनले भने, ‘राहतको नाममा चुनावी प्रचार भएको छ । राहत मानवीय संकटको समयमा नभई चुनावी अभियानका रुपमा अएजस्तो भएको छ । यसलाई वडास्तरमा सर्वदलीय संयन्त्रण बनाएर व्यवस्थित गर्नुपर्छ ।’ पार्टी, मतदाता र मतदान गरे नगरेको पहिचान गर्ने बेला नभएको भन्दै सांसद यादवले मानवीय संकटलाई टार्नु नै अहिलेको प्राथमिकता भएको बताए ।
विपन्न र खानै नपुग्नेले राहत नपाएको भन्दै उनले भने, ‘राहत वितरणको कामलाई एकद्वार प्रणालीबाट अघि बढाउँ, अहिले राजनीतिक प्रचारवाजी, निर्वाचनका क्रममा कसले कसलाई मत हालेको भन्ने कुराहरु बिर्सिएर लागौं ।’ कोभिड–१९ को संक्रमण रोक्न जिल्लामा सरोकारवालाहरु बीचमै समन्वय अभाव भएको पनि उनले बताए ।
अर्का सांसद इन्द्रप्रसाद खरेलले राहत वितरणका क्रममा सामन्वय अभावमा दुरुपयोग भएको भएको बताए । उनले भने, ‘वास्तविक विपन्न वर्तहरुसम्म राहत पुगेको छैन । यसलाई व्यवस्थित गर्नुपर्छ । रातह वितरणलाई एकद्वार प्रणालीमा लैजाउँ ।’ उनले जिल्लाका किसानले उत्पादन गरेको तरकारी कुहिएर खेर गएको प्रसंग उठाउँदै राहतमा तरकारी पनि वितरण गर्नुपर्ने बताए ।
जयसपुर लगायत जिल्लाका किसानहरुले उत्पादन गरेको तरकारी विक्री नभएर खेर गइरहेको बताउँदै उनले भने, ‘राहत वितरण गर्दा चामल र नुनतेल मात्रै होइन, जिल्लाका किसानले उत्पादन गरेको तरकारीलाई पनि प्याकेज बनाएर लैजानुपर्छ । यसले जिल्लामा उत्पादित तरकारीले बजार पनि पाउँछ, उपभोक्ताले तरकारी खान पाउँछ, किसानको लगानी सुरक्षित हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’
उनले भारतबाट आयात हुने तरकारी तथा खाद्यान्न विना क्वारेन्टाइन भित्रिरहेको भन्दै त्यसलाई तत्काल रोक्न स्थानीय प्रशासनसँग आग्रह गरे । ‘अहिले हेलचेक्र्याँई गर्ने समय होइन । भारतबाट आयात हुने तरकारी तथा खाद्यान्न क्वारेन्टाइन नगरेरै नेपालगन्जमा भित्रिरहेको छ । यसले आम उपभोक्तामा थप जोखिम निम्त्याएको छ । यसाई रोक्न स्थानीय प्रशासनले तत्काल पहल गर्नुपर्छ ।’
छलफल कार्यक्रममा अर्का सांसद मो.याकुव अन्सारीले सबैभन्दा बढी मारमा किसानहरु परेकाले उनीहरुका विषयमा स्थानीय प्रशासनले सोच्नुपर्ने बताए । उनले भने, ‘भारतीय तरकारी क्वारेन्टाइन नभएरै नेपाल भित्रिएको छ । जिल्लामा उत्पादन भएको तरकारी विक्री नभएर बारीमै कुहिएको छ । यसका लागि तरकारीलाई पनि राहत प्याकेजमा समेटेर लैजाँदा सबैका लागि राम्रो हुन्छ ।’
उनले राहत वितरणका क्रममा कोरोना राजनीति भएको भन्दै मानवीय समवेदनालाई ख्याल गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । साथै उनले उद्योग धन्दामा कार्यरत मजदुरहरु भोकभोकै हुनुपर्ने अवस्था आएको भन्दै उनीहरुका विषयमा पनि संवेदनशील भएर लाग्नुपर्ने बताउँदै सञ्चालनका क्रममा बन्दाबन्दीकै कारण रोकिएका विकासका कामहरुलाई सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सरकार एक्लैले मात्रै सबै कुरा सम्भव नहुने भन्दै सबैको हातेमालो आवश्यक रहेको बताए । छलफलमा सुरक्षा निकायका प्रमूखहरुले जिल्लाबासीलाई बन्दाबन्दीका समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किएर सहयोग गर्न आग्रह गर्दै संक्रमणको जोखिम हुन नदिन सुरक्षाका सबै रणनीतिहरु अपनाएर काम गरिरहेको बताए ।
जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाली सेनाका कर्णेल नकुल थापा, बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओली, सशस्त्र प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक दीपक अधिकारी जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमूख धिरजंग शाह, जिल्ला समन्वय अधिकारी हरि प्याकुरेल, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
अनुगमन तीव्र बनाइने
जिल्ला समन्वय समिति बाँकेले जिल्लामा कोरोना संक्रमणको जोखिम गर्नकै लागि राहत वितरणलाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्र बनाउने भएको छ । जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलका अनुसार जिल्लाका स्थानीय आठ वटै तहले वितरण गरेको राहत एवं अन्य व्यवस्थापकीय कार्यको अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने भएको हो ।
उनका अनुसार सबै स्थानीय तहमा राहत वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन र राहत वितरणको विवरण अनिवार्यरुपमा जिल्ला समन्वय समितिमा पठाउन निर्देशनसमेत दिएको छ । साथै किसानहरुले उत्पादन गरेको तरकारी बारीमै खेर गइरहेकोले त्यसलाई बजारसम्म पु¥याउन सबै स्थानीय तहलाई आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
कोरोना संक्रमणका बेला सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुले गरेको कामको प्रशंसा गर्दै जिससले उनीहरुको मनोबल उच्च राख्न तथा जिल्ला स्वास्थ्य सामग्री अभाव देखिएकोले संघीय सरकार तथा प्रदेश सरकारसँग अनुरोध गरिने जिसस सदस्य चेतबहादुर घर्तीले जानकारी दिए । उनले बन्दाबन्दीको समयमा आम नागरिकलाई सचेनता र सावधानी अपनाउन पनि जिल्लाबासीलाई अनुरोध गरेका छन् ।
सत्यपाटी ।