सूचनाको शक्ति - The Power Of Information

        

अतिविपन्न १२० परिवारलाई आयल निगमको राहत

बाँके । नेपाल आयल निगम लिमिटेड इन्धन डिपो, नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिका–२० का अतिविपन्न १२० परिवारलाई राहत उपलब्ध गराएको छ । विश्व नै संकटमा परेका बेला निगमको सामाजिक उत्तरदायित्व बमोजिम राहत उपलब्ध गराएको इन्धन डिपो, नेपालगन्जका प्रमूख नवविनोद पोखरेलले जानकारी दिए ।

विश्वव्यापी रूपमा फैलिरएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नको लागि नेपाल सरकारले उच्च सतर्कता साथ गर्दै आएको बन्दाबन्दीको प्रभावमा परेका अतिविपन्न राहत सामग्री वितरण गर्ने गरी नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीलाई हस्तान्तरण गरिएको प्रमूख पोखरेलले बताए ।

प्रमूख पोखरेलका अनुसार १८ क्वीन्टल चामल, एक क्वीन्टल ८०० किलोग्राम दाल, एक क्वीन्टल २० किलोग्राम नुन र ३६ किलोग्राम सोयाविन हस्तान्तरण गरिएको छ । जसमा १५ किलोग्राम चामल, एक किलोग्राम दाल, एक किलोग्राम नुन र ३०० ग्राम प्रतिपरिवारका दरले वितरण गरिनेछ ।

राहत सामग्री बुझ्दै नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले कोरोना महामारी फैलिएका बेला सहयोगी हातहरु बढ्दै गएको र रातह वितरणलाई तीव्रता दिइएको बताए । उनले संकटका बेला अतिविपन्न परिवारका लागि नेपाल आयल निगम लिमिटेड इन्धन डिपो, नेपालगन्जले राहत उपलब्ध गराएकोमा धन्यवादसमेत दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार १६:५८