सूचनाको शक्ति - The Power Of Information

        

पूर्वआईजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्ध उजुरी दिइँदै

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् । जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत, उजुरी दिन आइतबार परिसर पुगेका हुन् ।

खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका छन् । गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए ।

त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए । यता पार्टी फुटका लागि सांसद नै अपहरणमा परेपछि बुधबार राति नै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार १५:४२