सूचनाको शक्ति - The Power Of Information

        

कोरोना : विश्वभर ४९ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोभिड–१९)बाट शनिवार (२५ अप्रील) साँझसम्म संसारभर ४९ जना नेपालीले ज्यान गुमाएको एनआरएनएले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, यूएई २, आयरल्याण्ड १, जापान १, टर्की १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार विश्वभर १ हजार ९८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडाअनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित छन् । नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ ।

यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७००, युएई ८१, बहराइन ४९, कुवेत ४२, पोर्चुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साइप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।

यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा.हेमराज शर्माका अनुसार कोरोना महामारीपछि ४१ देशमा रहेका संघका शाखाहरुमार्फत ९०० जना स्वयसेवक परिचालन गरेको छ । कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।

डा.शर्माका अनुसार ७० जनाभन्दा गैरआवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भएलगत्तै संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविडा १९ उच्चस्तरीय समिति गठन गरि काम अघि बढाएको ‘एनआरएनए कोडिभ १९, उच्चस्तरी समिति’का संयोजक चिरन शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार १३:१०