सूचनाको शक्ति - The Power Of Information

        

इस्तियाक भन्छन्, ‘म सांसद होइन जनताको सेवक हुँ’


बाँके । बाँके क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईले आफु सांसद नभई जनताको सेवक भएको बताएका छन् । आफुलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिँदै राईले आफुले जनताकै सेवकका रुपमा निर्वाचनमा जित हाँसिल गरेको भन्दै संविधान संसोधन आफ्नो पहिलो एजेण्डा रहेको बताए ।
उनले भने, ‘संविधान संशोधनको एजेण्डा हिजो पनि थियो र आज पनि प्रमुख एजेण्डाकै रुपमा रहेको छ ।’ फेसबुक स्टाटस्मा प्रदेश राजधानीका विषयमा टिकाटिप्पणी भइरहँदा प्रतिनिधि सभा सदस्य राईले वाम गठबन्धनको सरकार बन्ने भएकाले प्रदेश पनि त्यही सरकारले तोक्ने बताए । उनले अब बन्ने वाम गठबन्ध्नको सरकारलाई इमान्दारिताका आधारमा नेपालगन्जलाई राजधानी बनाउन आग्रह गरे ।
उनले आफ्नो क्षेत्रका आम नागरिकको स्वास्थ्य, सामाजिक तथा आर्थिक, साँस्कृतिक विकासका साथै शिक्षामा पहुँच नभएका पिछडिएका जाति, जनजाति, दलित, अतिविपन्न तथा अपाङ्गता भएका नागरिकको चौतर्फी विकासका लागि आफ्नो भूमिकालाई अझ बढावा दिने बताए । सदस्य राईले बाँके जिल्लालाई समृद्ध बनाउन जनताले दिएको मतलाई आफुले सम्मान गर्दै त्यसको योगदानका लागि अघि बढ्ने बताए ।
नेपाल हेल्पलाइन फाउण्डेशन बाँकेले नवनिर्वाचित प्रदेश नं. ५ को जिल्ला बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका बाँके क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्य विजयबहादुर यादव, २ (ख)का प्रदेशसभा सदस्य सुरेन्द हमाल फाउण्डेसनका जिल्ला सभापति तथा संस्थाका अध्यक्ष मुस्लिम खान लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ७ पुष २०७४, शुक्रबार ०४:२५