सूचनाको शक्ति - The Power Of Information

        

सेनाको अडानपछि थपिँदै ‘लकडाउन’

काठमाडौं । नेपाली सेनाको अडानमा सोमबार सकिने लकडाउनको म्याद एक हप्ता थप हुने भएको छ । शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपाली सेनाका तर्फबाट सहभागी रथी प्रभुराम शर्माले लकडाउन अहिलेको अवस्थामा खुलाउन नहुने भन्दै अडान राखेका थिए ।

बैठकमा सहभागीहरुले स्थान र अवस्था हेरेर लकडाउन खोल्न वा खुकुलो बनाउन सकिने प्रस्ताव गरेपछि सेनाले भने अहिले लकडाउन हटाउने निर्णय आत्मघाती हुने भन्दै लकडाउन जारी राखेर भारतसँगको सीमानाका सिल गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ । सेनाको उक्त अडानपछि समितिले लकडाउन एक हप्ता थप गर्न सरकारलाई सिफारिस गरेको थियो । यस विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा अन्तिम निर्णय गर्नेछ ।

नेपाली सेनाले भारतको क्वारेन्टाइमा बसेर नेपाल भित्रिएका नेपाली नगारिकलाई स्वास्थ्य परीक्षण गरी सीमा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा निश्चित समयसम्म राख्नुपर्ने प्रस्ताव गरेको छ । बैठकमा रथी शर्माले भारतको क्वारेन्टाइनमा बसेर नेपाल भित्रिएका नेपाली नागरिकको स्वास्थ्य परीक्षण गरेर निश्चित समय क्वारेन्टाइनमा राख्ने, उनीहरु घर फर्र्िर्कएपछि फेरि अर्को समूहलाई नेपाल ल्याउनुपर्ने र क्वारेन्टाइमा राख्नुपर्ने तथा अन्य मानिसको आवात जावत रोक्न भारतसँगको सीमा सिल गर्नुपर्ने बताएका थिए । बैठकमा रथी शर्माले भारत र चीनबाट ल्याएको स्वास्थ्य सामाग्रीको विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले राहत वितरणमा अनियमितता भएको विवरण प्रस्तुत गरेका थिए । लकडाउनका विषयमा नेपाली सेनाबाहेक अन्य सुरक्षा निकायले कुनै प्रस्ताव नगरेको स्रोतले जनाएको छ । महानिरीक्षक ज्ञवालीले राहत वितरणमा अनियमितता भएको विवरण पेश गर्दै एक जना विद्यार्थीको डेरामा २७ बोरा चामल पाइएको बताएका थिए । उनले ती विद्यार्थीको सम्पूर्ण विवरण सार्वजनिक नगरे पनि त्यसलाई अनियमितताको सूचकका रुपमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार १२:२५