सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार ५०० नाघ्यो

फाइल तस्वीर

नयाँदिल्ली । भारतमा कोरोना (कोविड–१९) संक्रमितको संख्या २४ हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शनिबार बिहानको तथ्यांक अनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २४ हजार ५०६ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७७५ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ५ हजार ६३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल यहाँ १८ हजार ६६८ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ८१७ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा ३०१ जनाको निधन भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार गुजरातमा २ हजार ८१५ सक्रमित रहेका छन् । संक्रमित मध्ये २६५ जना निको भएका छन् भने १२७ जनाको भने मृत्यु भएको छ । दिल्लीमा २ हजार ५१४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५३ को ज्यान गएको छ । यसैबीच ८५७ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थानमा २ हजार ३४ मा कोरोना भाइरस संक्रमण देखिएको छ । यस संक्रमणबाट २७ जनाको ज्यान गएको छ । यसैबीच २३० जना भने उपचारपछि घर फर्किएका छन् । भारतको मध्यप्रदेशमा १ हजार ८५२ मा कोरोना भाइरस संक्रमण देखिएको छ । यस संक्रमणबाट ९२ जनाको ज्यान गएको छ ।

यसैबीच २१० जना भने उपचारपछि घर फर्किएका छन् । भारतको तमिलनाडूमा १ हजार ७५५ मा कोरोना भाइरस संक्रमण देखिएको छ । यस संक्रमणको कारण २२ व्यक्तिको ज्यान गएको छ । यसैबीच ८६६ जना भने उपचारपछि घर फर्किएका छन् । भारतको उत्तरप्रदेश राज्यमा १ हजार ६२१ कोविड–१९ को संक्रमित रहेका र २४७ जना उपचाररत रहेका २५ जना मृत्य भएको छ ।

त्यसैगरी केरला राज्यमा उच्च ४५० जनामा कोरोना संक्रमित रहेका छन् । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोविड–१९ को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार १७:१७