सूचनाको शक्ति - The Power Of Information

        

दाङ भर्सेस बुटवल : वाम गठबन्धनमा मतभेद


काठमाडौं । प्रदेश ५ को राजधानीलाई लिएर वाम गठबन्धनका नेताहरु दुई खेमामा विभाजित देखिएका छन् । यो प्रदेशमा गठबन्धनको दुई तिहाई पुग्ने देखिन्छ र एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री पक्काजस्तै छ । तर, प्रदेशको राजधानी दाङलाई बनाउने कि बुटवल भन्ने बहसमा वाम गठबन्धनका नेताहरु दुई धारमा देखिएका छन् । भावी मुख्यमन्त्री पोखरेल दाङका हुन् र उनी दाङलाई नै प्रदेशको राजधानी बनाउने सोचमा छन् । त्यसतर्फ संकेत गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले भनेका छन्, बुटवलबाहेक अन्यथा निर्णय हुने सुनिएको छ, यसोभए हामी सडकमा उत्रिन्छौं ।’

विभाजित वाम गठबन्धन
बुटवलका एमाले उपमहासचिव पौडेल अखण्ड लुम्बिनीको माग गर्दै भएको बटौली आन्दोलनका अगुवामध्ये एक हुन् । यो आन्दोलनमा उनीसँगै एमाले सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, कांग्रेसका चन्द्र भण्डारी र माओवादीका टोपबहादुर रायमाझी पनि थिए । बटौली आन्दोलनका अगुवाहरु अहिले पनि बुटवललाई राजधानी बनाउनुपर्ने मत राख्छन् । यसमा एमालेका अर्का उपमहासचिव घनश्याम भुसाल पनि थपिएका छन्, जो रुपन्देही ३ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । कांग्रेस नेता बालकृष्ण खाँड पनि बुटवललाई नै राजधानी बनाउनुपर्ने मत राख्छन् ।
तर, उनीहरु सबै (खाँडबाहेक) प्रदेशसभामा नभई प्रतिनिधिसभा सदस्य चुनिएका छन् । अर्कोतिर दाङलाई राजधानी बनाउनुपर्छ भन्ने मत राख्नेहरु पनि हेभिवेट नेताहरु नै छन् । पोखरेलसँगै माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन, एमाले उपाध्यक्ष युवराज ज्ञवालीसहितका वाम गठबन्धनका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने समूहमा छन् । यो विवादमा एमाले उपाध्यक्ष बामदेव गौतमले भने आफ्नो मौनता तोडेका छैनन् । उनी बर्दियाबाट चुनाव लडेका थिए तर, कांग्रेसका सञ्जय गौतमसँग पराजित भए ।

कसरी तोकिन्छ राजधानी ?
प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई हुन्छ । प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको राजधानी कहाँ राख्ने भन्ने निर्णय लिन सक्छ । तर, अहिले सरकारले अस्थायी मुकाम तोक्ने तयारी गर्दैछ । भोलि राजधानी बन्न सक्ने जहाँ पूर्वाधार पनि छ, त्यसलाई नै अस्थायी मुकाम तोक्ने तयारी देखिन्छ । अहिले राजधानी तोकेसँगै मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय पनि त्यहीँ नै रहनेछ । एमालेले ५ नम्बर प्रदेशको मुख्यमन्त्री शंकर पोखरेललाई बनाउने भनेको छ । तर, उनैले भने अनुसार राजधानी दाङलाई बनाइएन भने त्यसले मुख्यमन्त्रीको पहिलो गाँसमा नै ढुंगो लागेको महसुस गर्नु स्वाभाविकै हुनेछ ।
भावी मुख्यमन्त्री पोखरेल भूगोल र सुगमता लगायतका सबै हिसाबले दाङ नै ५ नम्बर प्रदेशको राजधानी बनाउन उपयुक्त हुने दाबी गर्छन् । तर, लुम्बिनीमा राजनीति गर्ने प्रभावशाली नेताहरुको स्वार्थ बुटवलसँग जोडिएकाले उनीहरु दाङलाई प्रदेशेको राजधानी बनाउने पक्षमा छैनन् । हेरौं, अब एउटै पार्टीका नेताहरुको पनि दुईतिर मुख फर्किएको अवस्थामा सरकारले ५ नम्बर प्रदेशको राजधानी कहाँ तोक्ने हो । यसमा पक्कै पनि अब जनस्तरबाट पनि बहस सुरु हुने संकेतहरु देखिन थालिसकेका छन् । बुटवलका जनताले प्रदेशको राजधानी बुटवलमै हुनुपर्ने आवाज उठाउने र दाङका जनताले दाङमा माग गर्ने अवस्था आयो भने यसबाट नेतामात्रै होइन, प्रदेशका जनतामा पनि विवाद फैलन सक्ने खतरा देखिएको छ ।

प्रदेश राजधानी दाङ हुन्छ, प्रमुख पनि दाङले नै पाउँछ : पोखरेल
भावी मुख्यमन्त्री पोखरेल भने प्रदेशको राजधानी दाङ हुने र प्रदेश प्रमुख पनि दाङले नै पाउने बताउँछन् । उनले भने, ‘बिभिन्न कोणबाट चर्चा चलाउने चलन छ । यसलाई मैले अस्वाभाविक पनि ठान्दैन । वाम गठबन्धनभित्रै समस्या पैदा हुन्छ कि भन्ने प्रश्न छ, त्यसलाई म्यानेज गर्ने कुरा हो । यसलाई मैले ठूलो विषय मानेको छैन । प्रदेशको राजधानी दाङ हुन्छ प्रमुख पनि दाङले नै पाउँछ ।’ दाङ घर भएका एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि बर्दियादेखि नवलपरासी पश्चिमको बीचमा दाङ पर्ने भएकाले राजधानी पनि दाङ नै हुनुपर्ने बताउँछन् । उनले दाङ बुटवलभन्दा सुरक्षित रहेको दाबी गर्दछन् ।
उनले बुटवलको नाम नलिइकन भने, ‘अरु देशको बोर्डरतिर राजधानी बनाउनु हुँदैन । सुरक्षाको दृष्टिकोणले पनि दाङ सुरक्षित छ । यहाँको हावापानी राम्रो छ र पूर्वाधार पनि प्रशस्त छ ।’ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा बनाइएको आयुर्वेद शिक्षण अस्पतालको भवनलाई प्रदेश प्रमुखको कार्यालय बनाउन यसअघि नै सिफारिस गरिएको छ । यो भवनमा ठूलो सभाहलदेखि १०५ वटा कोठा छन् । दाङमा बिभिन्न मन्त्रालय र कार्यालयहरुका लागि पनि भवनहरु प्रस्ताव गरिएको छ । –अनलाइन खबरबाट

प्रकाशित मिति : ७ पुष २०७४, शुक्रबार ०३:५५