सूचनाको शक्ति - The Power Of Information

        

कोरोनालाई जितेकी अंशु भन्छिन्, ‘सबैभन्दा ठूलो आत्मबल र धैर्यता’

बागलुङ । बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अञ्चल अस्पतालले डिस्चार्ज गरेको हो। बागलुङ नगरपालिका–४ कुँडुलेकी सापकोटाको पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको थियो ।

पोखरामा गरिएको परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बी पोखरेलले जानकारी दिए । २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन् । आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै उनले धैर्यता गर्न सबैलाई आग्रह गरिन् ।

‘सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ,’ उनले भनिन्, ‘कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगेँ ।’ औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानु भएको भन्दै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिइन् । ‘चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन,’ उनले आफ्नो अनुभव सुनाइन् ।

‘२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइँन, आत्मबल झनै दह्रो बनाएर बसेँ,’ उनले भनिन् । अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजानुपर्ने उनको सुझाब छ । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन् । उनले मानसिकरूपमा विचलित भएमा कमजोर हुने बताइन् ।

‘सबैलाई सकारात्मक सोच्न, आत्मबल र धैर्यता कायम गर्न म आग्रह गर्छु, यो नै कोरोनाको अचुक औषधि हो,’ अंशुले भनिन् । छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए । उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए ।

अठ्ठाइस दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको अंशुको भनाई छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको उनले बताइन् । अस्पताल बसाइमा अंशुले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा.शैलेन्द्र बी पोखरेलले बताए । डिस्चार्जपछि उनलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समा राखेर प्रहरीले घर पुर्याएका थिए ।

उनी चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन्। चैत १५ गते उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसै सातामात्रै नेपालको छैटौँ तथा जिल्लाको दोस्रो सङ्क्रमित बानपा–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्किएकी थिइन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार ०९:२३