सूचनाको शक्ति - The Power Of Information

        

मुस्लिम समुदायको पवित्र महिना रमजान शरीफ र लकडाउन

मुस्लिम समुदायको वार्षिक बाह्र महिने पात्रो अनुसार मुहर्रम पहिलो महिना हो । यस धर्ममा सबै महिनाका आ–आफ्नै विशेषता छन् । मिति २०७७ वैशाख १३ गतेदेखि मुस्लिम समुदायको पवित्र महिना रमजान शरीफ शुरु हुँदैछ । यो महिनाको छुट्टै विशेषता छ । यो महिनामा मुस्लिम समुदायका व्यक्तिहरुले विशेष खाले उपासना गर्छन् र निराहार रोजा (वर्त) बस्छन् । यो महिनालाई तीन भागमा बाडिएको छ, पहिलो रहमतको असरा (अवधी), दोस्रो मगफिरतको असरा र तेस्रो तथा अन्तिम जहन्नमबाट निजातको असरा अर्थात नर्कबाट मुक्तिको अवधी जुन १०/१० दिन गरी ३० दिनको हुन्छ ।

रमजान यस्तो महिना हो जस्ता बढीभन्दा बढी पुण्य कमाउने अवसर पाएका छन् । एक त रोजा बस्ने, नमाज पढ्ने तरावीह पढ्ने, शबेकद्रको राती रातभर जागेर इबादत गर्ने, अलबिदाको नमाज पढ्ने, रोजा बसेकाहरुलाई इफ्तार गराउने र आफ्नो सम्पतिको अढाई प्रतिशत भाग छुट्टियाएर गरीब र असहायलाई सहयोग गर्ने यो महिनाको एउटा फरक विशेषता छ जुन अरु महिनामा जुन इबादत, उपासना, सहयोग गरे त्यसको पुण्य एकको एकमात्र पाइन्छ । तर यो महिनामा एक राम्रो कार्य इबादत सहयोग गरे त्यो सत्तरी बराबर पुण्य प्राप्त हुन्छ ।

अरु बेला रमजान शरीफको आगमन हुदां मुस्लिमहरु चान्दरातका दिन नुवाइधोई गरी तराविह पढ्ने तयारी गर्थे । मश्जिदमा गइ तराविहको नमाज पढ्थे । भोलिपल्ट बिहानै सेहरी खाएर रोजा बस्थे दिनभर कुरानपाकको तिलावत गर्थे । महिलाहरु घरमा र पुरुषहरु दिनको पाँच पटक मश्जिदमा गएर नमाज पढ्थे । आ–आफ्नो हैसियत अनुसार दान गर्थे, इफ्तार पार्टीको आयोजना गर्थे, तराविह, सबीना र रमजान शरीफको अन्तिम शुक्रबार अलबिदा को नमाज पढ्न जान्थे । ईदुलफित्र मुस्लिम समुदायको सबैभन्दा ठुलो, खुशी र भाइचाराको पर्व हो त्यसको तयारी गर्न उनीहरु आ–आफ्नो हैसियत अनुसार नयाँनयाँ कपडा चप्पल जुत्ता, चुरा र श्रृंगारका सामानहरु किनमेल गर्थे ।

ईदको चान्द रातको राति मेहन्दी लगाउन्थे मिठामिठा परिकार सिवइ, छोयला, दहीबडा बिर्यानी आदि बनाएर आफन्त, साथीभाई, इष्टमित्रहरुलाई बोलाएर ईदी ईदको खर्च दिन्थे र मिठामिठा कुराहरु खान्थे र खुवाउन्थे । तर यसपाली विश्वव्यापि फैलिएको महामारी कोरोना भाइरसका कारण अवस्था फरक छ । यसपाली मुस्लिम समुदायले दिनमा पढिने पाँच समयको नमाज र तराविह घरमा पढ्ने छन् । सबीना र अलबिदाको नमाज पुरै समाजले पढ्न पाउने छैनन् । सामुहिक इफ्तार पार्टीको आयोजना हुँदैन । ईद मनाउने तयारीका नाममा घरमा रहेका कपडा नै आईरन गरी लगाउने छन् ।

ईदका दिन पकाइने परिकारका लागि आवश्यक सामग्री बजार बन्द भए नपाइन सक्छ । त्यसकारण घरमा रहेका कुराबाट नै इद मनाइनेछ । मुस्लिम समुदाय आफ्नो देशको हितमा सदा तत्पर रहँदै आएका छन् । तर जुन हिसाबले केही बाह्य अराजक तत्वहरु र भारतीय मीडियाबाट प्रभावित रहेका व्यक्ति एवं अनलाइन मीडियाले मुस्लिम समुदायलाई बदनाम गर्ने दुष्प्रयास गर्यो । त्यो आरोपहरु निराधार रहेका थिए । आरोप पछि मुस्लिम समाज स्थानीय प्रशासनको साथ र समन्वयमा ती मश्जिद र मदरसामा गएर देख्दा त्यस्तो केही पाइएन र त्यसको खण्डन पनि गरियो ।

यो रमजानको पावन महिनामा मश्जिदमा भीडभाड न गरियोस् भनी मुस्लिम आयोगले त्यसबारे अनुगमन गर्न विभिन्न जिल्लामा अनुगमन समिति गठन गरेको छ । जसले मुस्लिम समुदायका जिम्मेवार र अगुवा रहेका मश्जिदका इमाम र मदरसाहरुको प्रमुख एवं पदाधिकारीहरुलाई भीडभाड न गर्दिन जागरूकसमेत गराउनेछ । अहिलेसम्म मुस्लिम समुदायले राज्यले लागु गरेको लकडाउनको पूर्णपालना गर्दै आएको छ र अगामी दिनमा अर्थात रमजान शरीफको पवित्र महिनामा पनि आफ्नो सम्पूर्ण इबादत उपासना आदि घरमै गरी लकडाउनको पूर्णपालना गरी देशप्रति रहेको आफ्नो दायित्वलाई पूर्णरुपले निर्वाह गर्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार १२:१३