सूचनाको शक्ति - The Power Of Information

        

भारतको बहराइचमा रहेका एक जना नेपालीमा कोरोना भेटियो

फाइल तस्वीर

बर्दिया । भारतको बहराइचमा रहेका बर्दियाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियासँग सीमा जोडिएको बहराइचमा एक नेपालीसहित आठजनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित व्यक्ति ठाकुरबाबा नगरपालिका–२ सुजनपुरका रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । रुपैडिहा बहराइचको सेल्टर क्वारेन्टाइनमा रहेका तीनजना नेपालीको नमुना परीक्षण गर्दा एकजनामा कोरोना पुष्टि भएको हो ।

बहराइचमा कोरोना संक्रमित फेला परेपछि सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ लामिछानेले बताए । कोरोना संक्रमित आठजनामध्ये दुई भारतीय बर्दियाको राजापुर, मधुवन नगरपालिका आसपासमा काम गर्ने रहेको खुलासा भएको छ । उनीहरु मधुवन र राजापुर नगरपालिका कोठियाघाटबाट हिँडेर भारतको बिछिया हुँदै बहराइच पुगेपछि क्वारेन्टाइनमा राखिएको बहराइचबाट आफ्ना आफन्तले जानकारी गराएको ठाकुरबाबा स्वास्थ्य शाखाका डा. कुलदीप यादवले बताए ।

बहराइचमा कोरोना पुष्टि भएका व्यक्तिसँगै बस्दै आएका उनका भाइ एक महिनाअघि सुजनपुर आएको पाइएको छ । उनको शुक्रबार आरडिटी र स्वाब परीक्षण गरिने ठाकुरबाबा नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले बताए । संक्रमित युवकको घरसँगै सुजनपुर र खुलपुर पूरै गाउँ लक गरिएको छ । अर्को सूचना नआएसम्मका लागि शुक्रबारदेखि ठाकुरबाबा नगरभित्र मेडिकलबाहेक अन्य सबै पसलहरु आकस्मिक निर्णय गरेर बन्द गरिएको नगरपालिकाले नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार १०:२५