सूचनाको शक्ति - The Power Of Information

        

सांसद बन्न माधव र खनाललाई फकाउँदै बामदेव


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव हारेपछि पनि एमाले नेता बामदेव गौतमको सांसद बन्ने आशा मरेको छैन । त्यसैले पछिल्लो समय उनी सांसद बन्नका लागि माधव नेपाललाई फकाउँदै छन् । एमालेनिकट स्रोतका अनुसार उनी सकेसम्म माधव नेपाललाई फकाउन प्रयासरत छन् । उनी यदि नेपालले नमाने विकल्पमा झलनाथ खनाललाई फकाउने तयारीमा छन् ।
बामदेव प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका संजय गौतमसँग पराजित भएका हुन् । पराजित भएसँगै बामदेव ५ वर्षसम्म सत्ता र संसदबाट बाहिरिएका छन् । अन्तरिम संविधानमा चुनाव हारेका व्यक्ति पनि मन्त्री बन्ने बाटो खुला थियो । तर, अहिले संविधानमा त्यो व्यवस्था हटाइएको छ । सांसदबाहेकका व्यक्तिलाई मन्त्री बन्ने बाटो खुला भए पनि चुनाव हारेका व्यक्तिलाई भने संविधानमा तोकेरै मन्त्री बन्ने बाटो बन्द गरिएको छ । जसका कारण बामदेव निकै तनावमा छन् ।
बामदेव संसद र सरकारमा पुग्न सक्ने बाटो अझै बाँकी छ । त्यही कारण उनी अहिले पनि सांसद बन्न प्रयासरत छन् । यसका लागि उनले माधव नेपाललाई राष्ट्रपति बन्न फकाउँदैछन् । माधव नेपाल राष्ट्रपति बनिदिए प्रतिनिधिसभामा उनको काठमाडौं क्षेत्र नं. २ को सांसदको स्थान रिक्त हुनेछ । राष्ट्रपति हुने व्यक्ति निर्वाचित हुनुअघि कुनै लाभको पदमा बहाल भए उनको त्यो पद स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ । जसका कारण नेपाल राष्ट्रपति भएमा उनको सांसद पद स्वतः खारेज हुनेछ ।
नेपालको सांसद पद खारेज भएसँगै उनले प्रतिनिधित्व गरेको काठमाडौं २ को सांसद पद रिक्त हुनेछ । यदि कुनै पनि निर्वाचित सांसदको पद रिक्त भएमा त्यो स्थानमा पुनः उपनिर्वाचन गरेर सांसद निर्वाचित गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार काठमाडौं २ मा पुनः निर्वाचन हुनेछ । यो उपनिर्वाचनमा उम्मेदवार भएर सांसद जित्ने बामदेवको योजना हो । काठमाडौं २ मा नेपालले कांग्रेसका दिपक कुइँकेललाई झण्डै साढे १२ हजार मत अन्तरले पराजित गरेका कारण यहाँ आफूले सहजै जित्ने बामदेवको आँकलन छ ।
नेपालले निकै ठूलो मत अन्तरले जितेको यो ठाउँमा बाम गठबन्धनको बलियो पकड छ र यहाँ एमालेको अर्को उम्मेदवार उठे पनि सहजै जित्ने सम्भावना बलियो छ । बामदेवको समस्या भनेकै माधव नेपालले राष्ट्रपति बन्न इच्छा नदेखाउनु हो । राष्ट्रपति बन्ने व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन पाइँदैन । अहिले ६४ वर्षका नेपाल अहिल्यै सक्रिय राजनीतिबाट सन्यास लिन चाहँदैनन् । ५ वर्ष सांसद भएर पुनः हुने चुनावसम्म पनि उनी ७० वर्ष पुग्दैनन् । कुनै अप्रत्याशित घटना नभए उनी पुनः अर्को चुनाव लड्न कुनै बाधा छैन । नेपाल यो कार्यकालमा नभए अर्को चुनावमा जितेर भए पनि प्रमुख कार्यकारी पद प्रधानमन्त्रीसम्म पुग्न इच्छुक छन् ।
त्यसो नभए पनि राष्ट्रपतिजस्तो ‘आलंकारिक’ पदमा बस्नुभन्दा सांसदकै रुपमा धेरै काम गर्न सक्ने नेपालको ठहर छ । माधव नेपालको प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका कारण बामदेवको सांसद बन्ने सपना तुहिन लागेपछि बामदेवले विकल्पका रुपमा झलनाथ खनालतर्फ पासा फ्याँकेका छन् । एमालेबाट राष्ट्रपतिको लागि माधव नेपाल नभए अर्का ‘क्याण्डिडेट’ खनाल हुन् । यदि नेपालले नमाने खनाललाई राष्ट्रपति बनाउने र खनालको ठाउँबाट चुनाव जिती सांसद बन्ने विकल्पमा पनि बामदेवले प्रयास थालेका छन् ।
खनालले पनि इलाम १ बाट १७ हजार मतको फराकिलो अन्तरले चुनाव जितेका हुन् । यहाँबाट पनि चुनाव जित्न बामदेवलाई सहज छ । तर, पहिल्यैबाट राष्ट्रपति नेपाललाई बनाउने भित्री सहमति भएको भनिएकोले नेपाललाई फकाउन बामदेवलाई तुलनात्मक रुपमा सहज छ । चर्चामा नरहेका खनाललाई एक्कासी अघि सार्दा बामदेवका अगाडि एमाले नेतृत्वसँगै माओवादी नेतृत्वलाई पनि मनाउनुपर्ने चुनौती छ ।

प्रकाशित मिति : ७ पुष २०७४, शुक्रबार ०३:४९