सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारीले गम्भीर अनिकाल र भोकमरीको जोखिममा विश्व : संयुक्त राष्ट्रसंघ

जेनेभा । विश्वमा बिस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर भोकमरीको उच्च जोखिम देखिएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रमुख डेविड बिज्लेईले भोकमरीका कारण उत्पन्न हुने गम्भीर दुर्घटना वा विनाशबाट जोगिनका लागि तत्काल उपयुक्त प्रयासको खाँचो रहेको बताएका छन् । विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड भन्दा बढी पुग्ने आँकलन गरिएको छ ।

डब्लुएफपीका अनुसार भोकमरीका कारण सबैभन्दा बढी प्रभावित हुने १० देश छन्, जुन देशमा द्वन्द्व, आर्थिक संकट र जलवायु परिवर्तनको प्रभाव अधिक परेको छ । ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको छ ।

कोरोना भाइरसको महामारी पूर्व पनि पूर्वी अफ्रिका र दक्षिण एसियाका देशहरुले खाद्यान्न अभावको गम्भीर संकट भोगेका थिए । यी क्षेत्रमा खडेरी तथा केही दशक यताकै सबैभन्दा ठूलो सलह महामारीका कारण खाद्यान्नको संकट उत्पन्न भएको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भिडियो कन्फ्रेन्समार्फत भएको बैठकमा सम्बोधन गर्दै डब्लुएफपीका प्रमुख डेविडले सम्भावित गम्भीर अनिकालविरुद्ध विश्वले अति तीव्र तर बुद्धिमतापूर्ण ढंगले काम गर्नुपर्ने बताए ।

केही महिनाभित्रै अति भयानक भोकमरीको अवस्था आउने सक्ने उनले बताए । एकीकृत प्रयास र सहकार्यले कोभिड–१९ को विश्वव्यापी महामारीलाई मानवीय तथा खाद्य संकटको विकराल रुप बन्नबाट जोगाउन सकिने उनले उल्लेख गरेका छन् । डब्लुएफपीका प्रमुख डेविड आफै पनि कोभिड–१९ को संक्रमणबाट हालै मुक्त भएका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार १०:१६