बाँके । न सफा चर्पी छ, न आवश्यकताअनुसार पानी, न घाम छिर्छ, न हावा, भुँइमै सुत्नुपर्छ, दैनिक स्वास्थ्य जाँच हुँदैन, अवस्था दयनीय र कष्टकर छ । बाँकेको दशगजा नजिक रहेका नेपालीलाई क्वारेन्टाइन बस्दा पनि ‘जेलमा बसेझैँ’ भइरहेको छ । यसै त जेलजस्तै क्वारेन्टाइन । त्यसमा पनि न पानीको सुविधा छ, न शौचालय । सुत्नका लागि ओछ्यान पनि छैन, लामखुट्टेबाट बच्न झुल पनि छैन । नत मागअनुसारको साबुन नै छ ।
१८ दिनदेखि यहाँ बसेका नेपाली सुरक्षित भन्दा पनि एकदमै असुरक्षित महशुस गरिरहेका छन् । बाँकेका सबै क्वारेन्टाइनभन्दा दशगजा नजिकको क्वारेन्टाइन अलि व्यवस्थित र सफा भनिए पनि अहिले उक्त क्वारेन्टाइन दुर्गन्धित र असुरक्षित हुँदै गएको त्यहाँ रहेका बर्दियाका झलकबहादुर थापा बताउँछन् । उनले अहिले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई खाना खुवाउनेबाहेक कुनै सुविधा नभएको बताए ।
उनकाअनुसार १४ दिनसम्म स्थानीय तहले यहाँ खानेपानी, बिजुली, साबुन लगायतका आवश्यक औजारको व्यवस्था राम्रै गरेको थियो । तर, दुई हप्तापछि भएको स्वास्थ्य परीक्षणपछि अहिले स्थानीय तहले खाना खुवाउनेभन्दा अरु कुनै पनि सेवा सुविधा नदिएका उहाँले बताउनुभयो । उनले भने, ‘क्वारेन्टाइन भनेर के गर्नु ? पछिल्लो समय जेल जीवन बिताएजस्तै भइरहेको छ । क्वारेन्टाइन बन्दीगृह होइन ।’
उनले १४ दिनपछि घर जान पाउनुपर्ने भए पनि सरकारको निर्देशन भन्दै बाँके प्रशासनले आफुहरुलाई कैदीबन्दीलाई जस्तै गरि कुनै सुविधासमेत नदिएर राखेको गुनासो गरे । क्वारेन्टाइनमा बसेका जुम्लाका गोविन्द शाहीले भने, ‘दुई सातापछिको बसाई जेलजस्तै छ । अपराधीलाई बरु जेलमा उचित सम्मान गरिन्छ, सुविधा दिइन्छ स्वास्थ्य जाँच गरिन्छ, मिठो बोलिन्छ तर, दशगजाको क्वारेन्टाइनमा बसेका हाम्रा लागि केही सोँचिएको छैन ।’
उनकाअनुसार यहाँको शौचालय दुर्गन्धित छ । १८१ जनाका लागि दैनिक नुहाईधुवाईका लागि समेत उचित पानीको व्यवस्था छैन । ‘१४ दिनपछि न सुविधा छ, न मानवअधिकारको ग्यारेन्टी नै छ । क्वारेन्टाइनमा बिजुलीसमेत छैन,’ उनले भने, ‘यसअघि जडान गरिएको बिजुलीबत्ती ठेकेदारले दुई हप्तासम्मको मात्रै सम्झौता भन्दै पोलबाट बत्ति नै तानेर लगेपछि क्वारेन्टाइनमा बस्नेहरु अँन्धकारमा विताउनुपरेको छ ।’
उनले बिजुली जडानका लागिसमेत बाँके प्रशासन, स्थानीय तहलगायतका निकायले चासो देखाएका छैनन् । दशगजाको क्वारेन्टाइनमा रहेका नेपालीहरुको अवस्था कष्टकर बन्दै गएको छ । उनीहरुले यहाँ बस्नका लागि उचित वातावरण मिलाईदिन र क्वारेन्टाइनमा पाउनुपर्ने सबै सेवा सुविधा उपलब्ध गराईदिन आईतबार मात्रै बाँके प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आफूहरुको पुनः स्वास्थ्य जाँच गरी घर जाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएर आफ्नो समस्याका बारे जानकारी दिए पनि स्थानीय प्रशासनले आफूहरुका समस्या र मागप्रति कुनै सुनुवाई नगरेको उनीहरु बताउँछन् । बाँकेमा दैनिक गर्मी बढ्दै गएको कारण उक्त क्वारेन्टाइनमा सर्पको एकदमै डर देखिएको बर्दियाका गौरी कामी बताउँछन् । उनका अनुसार भुँइमा सुत्नुपर्ने भएकालेसर्पको एकदमै डर छ ।
यहाँ रहेका नेपाली कोरोनबाट नभई सर्पले डसेर मरिने हो की भन्ने चिन्तामा देखिएका छन् । ‘अनुसन्धानका लागि थुनामा राखिएका बन्दीसमेतले हिरासतमा सुत्न खाट पाएका हुन्छन्, बर्दियाका भुपेन्द्र खत्रीले भने, ‘जेलमा रहेका बन्दीकैदीको स्वास्थ्यको राम्रो प्रबन्ध हुन्छ । सुत्ने पनि राम्रै व्यवस्था हुन्छ । तर, यहाँ त दैनिक स्वास्थ्य परीक्षण त परै जाओस् एउटै पालमूनि तीनरचार जना लम्पसार भई सुत्न बाध्य हुनुपरेको छ ।’
चैत्रको महिना हावाहुरीको उच्च जोखिम हुने भएकाले यदि हावाहुरी आएको अवस्थामा यहाँ काम चलाउन पालले थेग्न सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘लामखुट्टेबाट बच्न झुल पनि छैन । खाली चौरमा सामान्य कपडा ओछ्याएर सुत्नुपरेको छ,’ उनीहरुले भने, ‘प्रायः पालमूनी जेलमा झैं तीन चार जना व्यक्ति खचाखच छन् । हामीलाई त नागरिकसरह व्यवहार पनि गरिएको छैन ।’
नेपाली भारतमा कोरोना संक्रमणको त्रास बढेसँगै १८ दिन पहिले भारतका विभिन्न जिल्लाबाट नेपाल–भारत सीमा नाका जमुनाह हुँदै उनीहरु नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई कोरोना चेकजाँचका लागि स्थानीय प्रशासनले १४ दिनका लागि उक्त क्वारेन्टाइनमा राखेको थियो । १४ दिनपछि उनीहरुको स्वास्थ्य परीक्षण गर्दा १८१ जनामै कोरोना नेगेटिभ देखिएको थियो । तर, माथिको आदेश भन्दै बाँके प्रशासनले उनीहरुलाई अहिलेसम्म घर फर्कन दिएको छैन ।
२१ दिनपछि पनि जान नदिए आन्दोलन
दशगजास्थित क्वारेन्टाइनमा रहेका उनीहरुले अब सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । २१ दिनसम्म क्वारेन्टाइनमै बस्ने तर, २१ दिनपछि पनि घर जान नदिएपछि आन्दोलनमा उत्रने उनीहरुले सोमबार चेतावनी दिएका छन् । दुई हप्ताको क्वारेन्टाइन बसाईपछि स्वास्थ्य परीक्षण गरेर घर पठाउने सर्तमा उनीहरुलाई राखिएको थियो । उनीहरु १४ दिनपछि उनीहरु सबैको स्वास्थ्य परीक्षण गरि कोरोना नेगेटिभ आएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले प्रमाणपत्रसमेत दिइसकेको छ ।
सरकारले आफूहरुलाई झुक्काएको भन्दै आक्रोशित बनेका उनीहरुले २१ दिनपछि आफूहरु घर जान पाउनुपर्ने अडान राखेका छन् । यदि २१ दिनका दिनपछि बाँके प्रशासनले १४ दिनको जस्तै व्यहोरा देखाएको खण्डमा आफूहरु सरकारविरुद्ध आन्दोलनमा जानुको विकल्प नरहने उनीहरुको भनाई छ । उपमहानगरपालिकाले प्रमाणपत्र दिएर घर फर्किन गाडीको समेत व्यवस्था गरिसकेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारीकुमार खड्काले भने गृहको आदेश नआएपछि उनीहरुलाई घर जानबाट रोकिएको बताए । प्रजिअ खड्काले भने, ‘मन्त्रीपरिषद्को निर्णयले नै एक ठाँउबाट अर्को ठाँउमा जान रोकेपछि उहाँहरुलाई पुनः क्वारेन्टाइनमा राखेका हौं ।’ उनले गृह मन्त्रालयमा सम्पर्क गर्दा पठाउन नमिल्ने निर्देशन आएपछि उनीहरुलाई पुनः क्वारेन्टाइनमै राखिएको बताउँदै २१ दिनपछि घर पठाउने विषयमा समन्वय भइरहेको जानकारी दिए ।
सत्यपाटी ।