सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा पहिलो कोरोना संक्रमित पुष्टि भएका युवक डिस्चार्ज

कैलाली । सुदूरपश्चिममा कोरोना संक्रमित पुष्टि भएका पहिलो व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । चैत १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका र १४ गते कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनलाई लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियम डा. शेरबहादुर कमरले जानकारी दिए । उनको तीन पटक परीक्षण गर्दासम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो । उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन् ।

यसअघि कैलालीको लम्कीका २१ वर्षीय युवक पनि कोरोना उपचारपछि नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए । सुदूरपश्चिममा रहेका पाँच कोरोना संक्रमितमध्ये अब तीनजनाको उपचार भइरहेको छ । नेपालमा कोरोना पुष्टि भएका ३२ जनामध्ये पाँचजनालाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार २०:०७