विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसबाट संक्रमित हुने र यसैका कारण ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । शक्तिशाली मानिएका देशलाई यो भाइरसविरुद्धको लडाईं जित्न हम्मेहम्मे पारिरहेको छ । विकसित देशहरूमा नै संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढी छ । यद्यपि ६ लाख १६ हजारभन्दा बढी मानिस निको भइसकेको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।
कोरोना भाइरसका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी बढी जोखिममा छन् । हालसम्म इटालीमा मात्रै एक सय जनाभन्दा बढी कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीले ज्यान गुमाउनु परेको छ । अन्य देशमा पनि यसकै कारण ज्यान गुमाउने स्वास्थ्यकर्मीको संख्या बढ्दै छ । बिरामी चाहे कोभिड–१९ का हुन् वा अरु कुनै रोग लागेका नै किन नहुन्, बिरामीसँग धेरै समय सँगसँगै हुने नर्सहरू नै हुन् । त्यसैले धेरै जोखिम उनीहरूलाई छ ।
बिना पिपिई अथवा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेका स्वास्थ्य उपकरणका भरमा काम गरिरहनुपर्ने बाध्यता नर्सहरूलाई छ । यो विषम परिस्थितिमा आफ्नो परिवारसँग नबसी, दुधे बालकलाई घरमै छाडेर बिरामीको सेवा गरिरहेका नर्सलाई डेराबाटै निकालिएको समाचार सुन्न बाध्य छौं । ड्युटी सकेर घर फर्कँदा घरबेटीले घरको गेट नखोलिदिएर अरुको घरमा बस्नुपर्ने बाध्यता कति छन् कति ।
नर्सहरुले प्रयोग गरेको शौचालय, पानीको धारासमेत प्रयोग नगर्ने. बाटोमा हिँड्दा पनि कोरोना नै बोकेर हिँडेजस्तो गरी मुन्टो बटारेर हिँड्नेजस्ता कुराहरू हामी दिन दिनै सुन्दै आइरहेका छौं । एक त समाजमा नर्सलाई छिछि र दुर्दुर गर्नेको संख्या थपिँदै गएको छ भने अर्कोतिर नर्सले काम गर्ने अस्पतालले तलब नै नदिएको, कुनै अस्पतालले बेतलबी छुट्टी बस्न बाध्य गराएको छ भन्ने गुनासो गर्नेहरू पनि छन् । अधिकांश अस्पतालमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) छैन ।
आइसोलेसन र फिभर क्लिनिकमा भगवान भरोसा भन्दै काम गर्नुपर्ने अवस्था छ । पिपिई चाहियो भन्दा अस्पताल प्रशासनले कामबाटै निकालिदिएको खबर पनि नौलो रहेन । नर्सहरूमाथि दिन प्रतिदिन यस्तो अन्याय भइरहँदा पनि पेसागत अधिकारका लागि लड्ने भनिएको संस्था नेपाल नर्सिङ एसोसिएन (नान) र नियामक संस्था नर्सिङ काउन्सिल मौन भएर बसेको देख्दा नर्सहरूले दुख मान्नुबाहेक अरू गर्न सक्ने अवस्था छैन ।
यी संस्था आफ्नो स्वार्थ पूरा गर्न राजनैतिक दलको झन्डा ओडेर पेशागत संस्थालाई राजनीतिक दलको गुलाम बनाउँदैमा ठिक्क छ । चुनावका बेला ठूलाठूला नारा लिएर हिँड्ने चुनाव सकिएपछि वास्तै नगर्ने परम्परा बसेको छ । आफूभन्दा पहिला देश सम्झेर काम गर्ने नर्सहरू अस्पतालमा काम गर्नकै लागि घरबाट छुट्टै बस्दै आएकाहरू समस्यासँग जुध्दै आएका छन् ।
उनीहरुका समस्या के छन् भनेर कहिल्यै नानले सोध्ने गरेको छ ? नर्सहरुकै मत लिएर घुम्ने कुर्सीमा बस्ने अनि समस्या पर्दा गुपचुप रहन मिल्छ ? वर्षमा एक दिन जेरीपुरी खाएर नर्सिङ दिवस मनाएर मात्र नानको दायित्व पूरा हुन्छ ? जिम्मेवार निकायका पदाधिकारूहरू पनि सरकार जस्तै चिरनिन्द्रामा छन् । यो विषम परिस्थिति होस् या अन्य अवस्था, अग्रपंक्तिमा बसेर काम गर्ने नर्सहरु सदैव आफ्नो दायित्वलाई आत्मसात् गरेर कामलाई सर्वोपरि ठानी लगनशील छन् ।
वास्तवमा नर्सहरू कोरोनालाई कसरी जित्ने, आफू कसरी बच्ने, आफ्नो परिवारलाई कसरी सम्झाउने, परिवारलाई कसरी बचाउने, बिरामीलाई कसरी बचाउने भन्ने सोचिरहेका हुन्छन् । यति बेला काममा हौसला दिनुपर्नेमा उल्टो स्वास्थ्यकर्मीकै हुर्मत लिन अघि सरेका देखिन्छन् हाम्रा संस्थाहरू । केही समय अगाडिमात्र त्रिवि शिक्षण अस्पताल तथा कान्ति बाल अस्पतालका डाक्टर र सुनसरीका हेल्थ असिस्टेन्टमाथि प्रहरीले नै बिनाकारण पिटेको विषयमा विरोध भएपछि पीडितले न्याय पाए भन्ने अपेक्षा गरौं ।
तर स्वास्थ्य क्षेत्रमा नै काम गर्नेहरूको समान पेसागत हैसियत छैन । यदि एक जना नर्सले पिटाइ खाएको भए कोठामा गएर रुनुबाहेक केही हुँदैनथ्यो । किनकि हाम्रो नानलाई यस्तो कुरा ले केही फरकै पर्दैन । त्यहाँका पदाधिकारीहरुलाई मात्र चुनाव जित्नु थियो, जितिसक्नु भएको छ । उहाँहरूलाई जित ‘मुबारक’ छ । नर्सहरूले आफ्नो सुरक्षा आफै गर्नुपर्छ । न अस्पतालले व्यक्तिगत सुरक्षाका विषयमा कुरा गर्छ, न नान र काउन्सिलले नै ।
कोरोना भाइरस हराउन हिम्मत नहारी आफू बच्दै देश बचाउनुपर्ने जिम्मेवारी सबै नर्सले बुझेका छन् । त्यही सम्झेर पिपिई र अन्य आवश्यक वतावरण तयार नहुँदानहुँदै पनि काम गर्ने उत्साह घटेको छैन । महामारीको विषम परिस्थितिमा अधिकारभन्दा पनि कर्तव्य सम्झेर युद्धमैदानबाट पछि हट्न हुन्न । अधिकारका लागि लड्न पनि छाड्नुहुन्न । एकआपसको हिम्मत लिएर काम गरौं । (नर्स थपलिया स्टार अस्पतालमा कार्यरत छिन् ।)
रश्मिला थपलिया ।