सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबारे मिडियाले बनाइदिएको दृष्टिकोण

कोरोनाको यात्रा जुन चीनको बुहानबाट सुरु भई विश्वका विभिन्न देशको परिक्रमा गरी नेपाल पनि आइपुगेछ । चीन जसले केही समय अघि मुस्लिम समुदायका लागि बुर्का, नमाज र रोजा जस्ता धार्मिक कृयाकलापमाथि प्रतिबंध लगाएको थियो । तर जब कोरोना जस्तो महामारी फैलियो त्यसबाट मुस्लिम समुदायलाई खासै असर नपरेको थाहा पाउदां त्यहांका राष्ट्र प्रमुखले स्वंय मुस्लिम बस्ती र मस्जिदका निरिक्षण गरे । मुस्लिम समुदायको खानपान र रहनसहनका कारणले त्यसको प्रभाव पर्न नसकेको भनी निर्क्यौल निकाले ।

किनभने मुस्लिम समुदायले दिनमा पाँच पटक नमाज पढ्नका लागि वूजु गर्छ जसले गर्दा शरीरका बाहिरी भाग दिनमा पाँच पटक अनि सफा हुन्छ र नमाज एक खास किसिमको व्यायाम हो जसले शरीरको हरेक अंगमा रक्त सञ्चार हुन्छ । खानपानका कुरा गर्ने हो भने मुस्लिम समुदायले त्यहिमात्र खान्छ जसलाई शरीयतले हलाल अर्थात् खाना योग्य भनेछ । यसै गरी लुगाका कुरा गरौं भने इस्लामले महिला र पुरुष दुबैलाई पुरै शरीर ढाक्ने आदेश दिएछ । यी यावत कारणले चीनका मुस्लिम समुदायलाई कोरोनाले प्रत्यक्ष प्रभाव पारेन ।

कोरोना एक प्रकारको खतरनाक भाइरस हो जुनकी कुनै एकव्यक्तिको लापरवाहीले गर्दा फैलिँदा पुरै समाज र देशलाई नै आफ्नो चपेटामा लिन सक्छ र लिँदै आएको छ । चीनमा जब यो महामारी फैलियो तब इटली सरकारले यसको गम्भीरतालाई बुझेर लाकडाउनको घोषणा गर्यो त त्यहाँका जनताले बेवास्ता गरी आफ्नो दिनचर्चा सुचारु राखे जसको परिणाम स्वरुप आज त्यहां हजारौं व्यक्तिले कोरोनाकै कारण ज्यान गुमाउनुपर्यो । विश्वका विकसित देशहरु आ–आफ्नो योग्यता क्षमता र दक्षता अनुसार कोरोनासँग जित्न प्रयासरत रहे र आज पनि प्रयासरत नै छन् ।

तिनीहरु कोरोनालाई रोगको रुपमा लिएर त्यसको विरुद्ध विजय हुन आफ्नो देशका जनतालाई बचाउन लागिपरेका छन् । जबसम्म कोरोना भारत आएको थिएन तबसम्म कोरोनामात्र एक महामारी थियो तर तबदेखि भारत हुँदै नेपाल आएछ तबदेखि कोरोनाको धर्म पनि भयो समुदाय पनि भयो । विश्वका अन्य देशजस्तै इटली, अमेरिका, युरोप, साउदी, कतार पाकिस्तान र छिमेकी मुलुक भारत हुँदै नेपाल आयो । तब यसको स्वरुप नै फेरियो । छिमेकी मुलुकमा यसलाई रोगको रुपमा नभइ उत्सव र आरोप लिइयो जसको प्रभावबाट नेपाल पनि अछुत रहेन् ।

हो छिमेकी मुलुकका मिडियामार्फत त्यहाँका राष्ट्र प्रमुखले कहिले थाल र घरका अन्य भाडाकुँडा ठटाउने आदेश दिए भने कहिले दियो टर्च आदि बाल्न लगाए । त्यहाँका जनताले त थाल ठठाइ दियो त बाले, साथै पटाकासमेत पड्काए । जसको आलोचना त्यहाँका पत्रकार र समाजसेवीहरुले यो भनेर गरे कि यो उत्सव ती मृतकका लागि हो वा कोरोना संक्रमितहरुका लागि हो । भारतको सीधा प्रभाव नेपालमा पर्दै आएको छ । त्यही प्रभावका कारण भारतका राष्ट्र प्रमुखले तोकेकै समयमा नेपालका विभिन्न जिल्लामा समेत थाल र भाडाकुडा ठटाइयो र दियो टर्चका साथै पटाखा पनि पड्काइयो ।

भारतीय मीडियाको आलोचना भारतमा मात्रै होइन विश्वभरी गरिन्छ किनभने भारतीय मिडियाले झूठो खबर साझा गरी सम्प्रदायिकता फैलाउने काम मात्र गरिरहेछ । भारतको सामाजिक आर्थिक, धार्मिक मात्र नभई राजनीतिक प्रभावसमेत नेपालमा पर्ने हुनाले नेपालका केही अनलाइन मिडियाले टिआरपीका लागि झूठा खबर साझा गर्न सुरु गरेछन् । हुन् त कोरोना विश्वव्यापीरुपमा फैलिएको एक महामारी तर भारतीय मिडियाले यसलाई आरोपको रुप साझा गर्यो । अनि कोरोनालाई कहिले चीनको साजिश भने कहिले पाकिस्तानको हुँदाहुदैं यसको आरोप दिल्लीस्थित मरकजमाथि मढिदियो । अनि हप्तौं सम्म मरकज र जमातमाथि टिभी न्यूज र डिभेट कार्यक्रम प्रशारण गर्यो ।

यो भनेर कि मरकजमा आएकाहरु कोरोना बम हुन् यिनीहरुले गर्दा नै भारतमा कोरोना फैलियो । यहाँ मरकज के हो र जमाती को हुन् भनी खुलाउन आवश्यक छ । प्राप्त जानकारी अनुसार मरकज भनेको केन्द्र हो जहाँ जमातीहरु बस्छन् । अनि जमाती भनेका ती हुन् जसले आफ्नो समुहका मानिसहरुलाई इस्लाम अनुसार चल्न सिकाउंछन् । यिनीहरुको जमात एक साता (७ दिन), बिस (२०) दिन वा चालिस (४०) दिनका हुन्छन् । जुन समयावधीभर यिनीहरु मस्जिदमा बसेर इस्लामका बारे जानकारी हासिल गर्छन् । जुनकी लाकडाउनका कारण फर्किन नसकेर मस्जिदमा नै बसे । तर मिडियाले त्यसलाई गलत प्रचार गर्यो । हुन् त त्यतिखेर अन्य धर्मका धार्मिक स्थलहरु र बसस्टप अनि सडकमा समेत मानिसहरु अलपत्र परेका थिए तर तिनीहरुबारे खासै चर्चा गरेन ।

यति गरेर कहाँ भारतीय मिडियालाई शान्ति मिल्ने थियो र उसले नयाँ प्रोपोगाण्डा सुरु गर्यो नेपालको विरुद्ध र सबै च्यानलहरुले एउटा झूठो खबरलाई बढाइचढाई समाज सामु पस्के । त्यो खबर थियो, नेपालबाट एकजना जालिम मुखिया भन्ने व्यक्तिले २०० जना कोरोना संक्रमितहरुलाई भारत पठाउन षडयन्त्र रच्दैछ । जबकी त्यतिखेर नेपालमा जम्मा नौ (९) जना कोरोना संक्रमित भेटिएका थिए, जसमध्ये एक जना निको भएर फर्किसकेका थिए । बाँकी रहेका आठ (८)जना संक्रमितहरुको अवस्था ठीकठाक नै थियो । यसरी जहाँ आठ जनामात्र संक्रमित थिए । त्यसबारे यस्तो ठुलो झूठ फैलाइयो कि २०० देखि ३०० जनासम्म संक्रमितलाई भारत पठाउने कार्य नेपालले गरिरहेछ ।

यिनै झूठो खबरको प्रभाव नेपालका केही अनलाइन मिडियामाथि समेत पर्यो र उनीहरुले सस्तो टिआरपीका लागि नेपालका मुस्लिम समुदायलाई बदनाम गराउन उस्तै फ्रेममा झूटो समाचार पस्के । नेपालका मस्जिदमा कोरोना भाइरस भनी हल्ला फैलाइयो । जतिखेर नेपालका मस्जिदलाई निसाना बनाइँदै थियो । त्यतिबेला एकातिर कर्णाली क्षेत्रमा हजारौंको भीड जम्मा गरी उत्सव र मेला मनाइँदै थियो भने अर्कोतिर भक्तपुरमा सामुहिक पुजाको आयोजना गरिएको थियो, जहाँ हजारौंको भीड जम्मा थियो । यहाँ कुनै समुदाय, धर्म र जातिलाई आक्षेप लगाउने उद्देश्य न राखी नेपालमा लाकडाउनको बेलाका सार्वजनिक घटनाहरुको स्मरणमात्र गराउन खोजिएको हो ।

भनाइको अर्थ यो हो कि कोरोना एक महामारी हो जसले अलिकति लापरवाही गर्दा ज्यानसमेत लिगरहेको छ । चीनमा कोरोनाबाट जब दिनकै मानिसहरु मरिरहेका थिए । नेपालका विज्ञ र स्वास्थ्यकर्मीहरुले सरकारलाई अन्तर्राष्ट्रिय उडान रोक्न र लकडाउन गर्न भनी अनुरोध गरिरहेका थिए । तब सरकारले बेवास्ता गर्यो । बाह्य उडान र आन्तरिक आवतजावत सुचारु नै रह्यो यहिसम्म भारतीय सीमासमेत खुल्ला नै रहेका थिए । तर जब सरकारले अचानक लाकडाउनको घोषणा गर्यो । जो जहाँ थियो, त्यही नै अलपत्र परे जो मन्दिरमा थिए ती मन्दिरमा अलपत्र परे जो मस्जिदमा थिए ती मस्जिदमा अलपत्र परे जो चर्चमा थिए ती चर्चमा अलपत्र परे जो गुरुद्वारामा थिए ती गुरुद्वारामा अलपत्र परे कोही धार्मिक यात्रामा थिए ती त्यही अलपत्र परे ।

हेर्ने हो भने अहिले देशका विभिन्न होस्टलहरुमा विद्यार्थी कर्मचारीहरु अलपत्र छन् । त्यस्तै मदरसामा पढ्ने केही बच्चाहरु पनि अलपत्र परे । कति त भारतीय सीमामा भोकभोकै अलपत्र परे । तर मिडियाले यसलाई भारतीय प्रभावमा परेर अर्कै रुप दिई खुब हाइलाइट गरी चर्चाको विषय बनायो कि फलाना मस्जिदमा यति व्यक्ति लुके जबकी बुझ्नुपर्ने कुरा यो हो कि मस्जिदमा साझा खुल्ला कोठा हुन्छ जहाँ नमाजीहरु नमाज पढ्छन् त्यहाँ लुक्ने जस्तो ठाउँ नै हुँदैन । हामी सम्पूर्ण नेपालीहरुको दायित्व हो यसबाट बच्न डाक्टरले दिएका निर्देशनको पालना गरौं, घरमा बसौं लाकडाउनको पालना गरौं, आफु पनि बाचौं र अरुलाई पनि बचाऔं ।

हामी सही सन्देश समाज सामु पुर्यायौं कि कोरोना एक महामारी हो जो कि कसैको कारणले नि फैलिन सक्छ यसकारण यसबारे झूठो खबर फैलाएर कुनै समुदाय, धर्म र जातिलाई दोषारोपण नगरौं । ताकी समाजमा एक अर्काप्रति घृणा र द्वेषको भावना उत्पन्न न होस् । हाम्रो पहिलो कर्तव्य हो कि हामीले समाजमा साम्प्रदायिकता फैलाउने अराजक तत्वहरुलाई बाईकट र नजरअन्दाज गरौं । सत्यतथ्य बुझौं एक अर्कालाई यस विषम परिस्थितिमा सके जति सहयोग गरौं र आफ्नो दृष्टिलाई सत्यतथ्यमा राखौं, मिडियाले फैलाएको झूठो खबरका अनुसार आफ्नो दृष्टिकोण न बनाऔं । साम्प्रदायिकता फैलाउने व्यक्ति र मिडियालाई पूर्णरुपले बहिष्कार गरौं ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतवार १२:४९