बझाङ । कोरोना भाइरस माहामारीको रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन भएर काम अबरुद्ध भएका ठुला योजनाहरुको काम सुरुवात गरिने भएको छ । ठुला योजनाहरुको काम लामो समयसम्म अवरुद हुँदा विकास निर्माणमा बाधा पुगेको छ भने त्यहाँ आश्रित मजदुरहरुलाई समस्या भएको छ ।
नेपाल सरकारले देशभरिका ठुला योजनाहरुको काम सूचारु गर्न परिपत्र गरेसँगे बझाङमा पनि यस्ता योजनाहरुको काम सुरुवात गरिने भएको छ । जिल्ला शान्ति सुरक्षा समितिको बैठकले जिल्लामा रहेका ठुला योजनाहरु चैनपुर–ताक्लाकोट सडक, जयपृथ्वी राजमार्ग र सेती नदीमा निर्माणधिन पक्की पुलहरुको गर्न काम सूचारु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
उनले भने, ‘ठुला योजनाहरुमा काम गर्दा आवश्यक पर्ने सामान ढुवानी गर्न सकिने र मजदुरहरुलाई सामाजिक दुरी कायम गरेर काम गराइने छ ।’ गृह मन्त्रालयको बैशाख ४ गते जिल्ला प्रसासन कार्यालय बझाङलाई परिपत्र गरेअनुसार ठूला आयोजनाको काम अघि बढाइने भएको हो । साथै बैठकले बाहिरबाट जिल्ला प्रवेश गरेका व्यक्तिहरुलाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्ने र टाढाका विद्यार्थीहरुलाई पायक पर्ने गरी १३ ओटा एसइईका परिक्षा केन्द्रहरु थप्ने निर्णयसमेत गरेको छ ।
सत्यराज सिंह ।