सूचनाको शक्ति - The Power Of Information

        

सांसदकै मिलेमतोमा कालोबजारी

कोरोना कहर

बाँके । कोरोनाको संक्रमण र जोखिम बढिरहेका बेला बाँकेमा कालोबजारी पनि उत्तिकै मौलाएको छ । यहाँका मेडिकलदेखि खाद्य र तरकारी पसलमा समेत कालोबजारीले सीमा नाघेको स्थानीय बताउँछन् । शुक्रबारमात्रै यहाँको हिल्स मेडि सप्लायर्समा गरिएको अनुगमनमा समेत उक्त सप्लायर्सले औषधीलगायतका बस्तुमा कालोबजारी गरिरहेको भेटिएको छ ।

उक्त कालोबजारीमा बाँकेका संघीय सांसद महेश्वर गहतराज ‘अथक’को मिलेमतो र संलग्नता देखिएको छ । साँसद अथक केही साताअघि कोहलपुरका पत्रकारलाई गुणस्तरहीन सेनिटाइजर र पाँच रूपैयाँको मास्क बाँडेर विवादमा आएका थिए । काठमाडौंबाट खरिद गरि ल्याएका केही सामग्री अथकले उक्त मेडिकललाई विक्री गर्न दिएको खुलेको छ ।

त्यसबाट आएको कमिशन अथक र मेडिकल सञ्चालकले आपसी रुपमा बाँड्ने सहमति समेत भएको स्रोत बताउँछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य एवं बाँके क्षेत्र नम्बर १ का संघीय सांसद गहतराज अथकको पहलमा बाँकेकमा आएका भनिएका सामग्री उक्त सप्लायर्समा विक्री वितरणका लागि राखिएको यसअघि उनकै मुखपत्रका रुपमा रहेको एक अनलाइनले समाचार प्रकाशित गरेको थियो ।

उक्त अनलाइनका अनुसार अथकले गुना थर्मा मिटर २८ थान, मास्क ४२३ थान, पिपिए सेट ४०० थान र ग्लोक्स एक हजार थान पठाएका छन् । उक्त सामाग्री सबै स्थानीय तह, अस्पताल र स्वास्थ्य संघसंस्थालाई प्रदान गर्ने भनिएको थियो । तर, अहिलेसम्म यहाँका कुनैपनि स्थानीय तहले उक्त सामग्री पाएका छैनन् । सांसद अथकले उक्त सामग्री स्वास्थ्य राज्यमन्त्री नवराज राउतसँगको सहकार्यमा नेपागन्जमा ल्याएको उनी निकट मानिएको उक्त अनलाइनले उल्लेख गरेको छ ।

कालोबजारी रोक्ने नीति निर्माण गर्ने तहमा रहेका जिम्मेवार व्यक्ति नै यसरी कमिशनको कनेक्शनमा देखिएपछि नेपालगन्जका यतिबेला कोरोनाको कहरसँगै अथकको कमिशन कनेक्शनको चर्चा चुलिएको छ । सामाजिक सञ्जाल फेसबुकमा यतिबेला चौतर्फी आलोचना हुनुका साथै कोरोनाको संक्रमणले आम नेपाली आजित भइरहेका बेला यसरी कमिशनको चक्करमा लाग्ने जो कोही माथि कारवाही गर्नुपर्ने आवाज उठिरहेको छ ।

सरकारमा रहेका दलकै सांसद यसरी कालोबजारी र कमिशनको कनेक्शनमा देखिएपछि हामलिे कसरी काम गर्ने बाँके प्रशासनमा शुक्रबार भएको एक उच्च स्तरीय बैठकमा अधिकाशंले यस्तै जनप्रतिनिधीका कारण बाँकेमा लकडाउन पूर्ण कार्यान्वयन, कालोबजारी न्यूनिकरण लगायतका गतिविधी रोकथाम गर्न नसकिएको बताएका छन् । बैठकमा सहभागी एक उच्च अधिकारीका अनुसार नीति निर्माण गर्ने सत्ताधारी सांसद नै यसरी कमिशनको चक्करमा लागेपछि कर्मचारीले मात्रै कसरी सुशासनमैत्री बाँके बनाउन सक्लान र ?

संघीय सांसद अथकमात्रै होइन बाँकेका संघीय र प्रदेश तहका अधिकांश सांसदको अहिले खेलो नै कमिशन भइरहेको छ । कमिशन नआउने ठाउँमा यहाँका केही सांसदहरूले कामै गर्न छोडेका छन् । सांसद अथकको मिलेमतोमा उक्त सप्लायर्सले ती औजार र सामग्री विक्री वितरण गरिरहेको बारे बुझ्न शनिबार विहान ८ बजे अथकलाई फोन गर्दा उनको फोन उठेन । तर, उनको कोहलपुरस्थित सचिवालयका कार्यालय सचिव शिब सुनारले उक्त सप्लायर्ससँग अथकको मिलेमतो र औषधी लगायतका सामग्री विक्री वितरणमा कमिशन कनेक्शन भन्ने कुरा गलत भएको दाबी गरे ।

सचिवालय सचिव सुनारका अनुसार बाँकेमा कोरोना कहरसँगै विविध सामग्रीको अभाव देखिएपछि सांसद अथकले गुना थर्मा मिटर २८ थान, मास्क ४२३ थान, पिपिए सेट ४०० थान र ग्लोक्स एक हजार थान पठाएका हुन् । उनका अनुसार उक्त सामग्री सासद अथकको संसद विकास कोषको रकमबाट नभई नेपालगन्जमा रहेको उक्त सप्लायर्सले नै आफ्नो पैसाले खरिद गरेको हो । सचिवालय सचिव सुनारले भने, ‘यसमा सांसद अथकको समन्वय मात्र हो । यस घटनामा सांसद अथकलाई जोड्नु गलत देखिएको छ ।’

सांसद अथको पहलमा आएका भनिएका ती सामग्री सप्लायर्समा बेच्नका लागि होइन यहाँका सबै स्थानीय तह लगायतका निकायमा वितरण गर्नका लागि ल्याएको नेकपा निकट उच्च नेताहरूनै बताउँछन् । उनीहरू भन्छन्, ‘सासद अथकले जुन उद्देश्यअनुसार ती सामग्री ल्याएका थिए त्यहि अनुरूप जिल्लामा पारदर्शी र प्रभावकारी वितरण गर्न सकेनन् । यो उनको कमजोरी हो ।’ उनी निकटकै एक पत्रकारका अनुसार अरूले नै गरिदिएको राम्रोमा आफूले ‘जस’ लिने तर, आफैले गरेको नराम्रोमा पन्छिने अथकको बानी नै रहेछ ।

 

 

 

 

 

#सेतोखरी डटकमबाट

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार ०८:४१