पापुलरिटी र प्रापर्टी बन्दैछ अन्तरजातीय विवाहको कारण । सुन्दा बडा अनौठो लाग्ला तर सत्यता यही हो आजभोलि केही समानतावादीहरु भनाउँदाले अन्तरजातीय विवाहलाई जातीय विभेद अन्त्य गर्नका लागि आफुले थालेको पहल भनी संज्ञा दिँदै मिडियाबाजी गरेको पाइन्छ । दिनकै समाचार आएको हुन्छ फलाना दलितको छोरी फलाना बाहुनले विवाह गरेको वा फलाना जातीको छोरालाई फलाना बाहुनको ज्वाइँ बनें । मुस्लिम समुदायमा हेर्ने हो भने फलाना अन्सारीका छोरी फलाना खानकी बुहारी बनिन्, फलाना शेखका छोरा फलाना जसगढका ज्वाइ बने । यस्ता समाचार हेर्दा हामीलाई पनि खुशी लाग्छ कि हो अब हाम्रो समाज फेलिँदै छ । अब त तल्ला जातीसँग माथिल्ला जातीहरुको विहाबारी चल्न थालेछ ।
हामी मनमनै ख्याली पुलाव बनाउन सुरु गर्छौं कि अहो अब त समाज उँचनीच र छुवाछुतबाट मुक्त हुन लागिसकेको छ । यहाँ कुरा गरिन्छ यसको वास्तविकता बारे, यथार्थ कुरा त यो छ कि दलित सांसद र मन्त्रीले कोठासमेत नपाएको देश यही नेपाल हो । जहाँ जातीय विभेद अन्त्यका ठुलाठुला उदाहरणहरु सामाजिक सञ्जाल र समाचारमार्फत साझा गरिन्छ । यस्ता समाचार सुन्दा पढ्दा र हेर्दा त बडा राम्रो लाग्छ कि अब समाजमा विभिन्न खाले विभेदको मुख्य कारण जातीय विभेदको अन्त्य हुँदैछ । तर समाजको वास्तविकता र त्यस्ता अन्तरजातीय विवाहको यथार्थता आएका समाचार भन्दाभिन्दै छन् । हेरौं जातीय विभेदमा आधारित समाजको वास्तविकता । आज पनि समाजमा तल्लो जातीलाई माथिल्लो जाति समुदायले अछूत भनी घृणा गरी प्रताडि़त गरेका प्रशस्त घटनाहरु छन् । आज पनि दलित समुदायलाई मन्दिर जान दिइँदैन ।
कति ठाउँमा त दलित समुदायको बस्ती नै छुट्याइएको छ । उनीहरुलाई सार्वजनिक धारा छोएमा कुटपिट गरिन्छ । समुदायबीच आज पनि विभेद कायमै छन् । हालै घटेको कालीकोटको घटना हेरौं जसमा दलितले चुलो छोएको भन्ने निहुमा निर्घात कुटपिट गरि जुत्ताको माला लगाइयो । कहिले दलितले धारा छोएको भन्दै कुटपिट गरी कालोमोसो लाउने यही नेपाल नै हो । कहिले धर्म मास्यो भनेर दिसा खुवाइन्छ भने कहिलेकाँही त बरबर्ता र निर्दयताको सीमा नाघेर हत्यासमेत गरेका छन् । ठुलाबडाले गर्ने धार्मिक कार्यक्रमहरुमा समेत लेबल छुट्याइएको पाइन्छ । जस्तै : कसैले मुन्डन राख्छ भने यो पन्डालमा निम्न वर्गका लागि व्यवस्था, त्यो पन्डाल मा मध्यमवर्गीय हरुका लागि व्यवस्था र अलि बढी सजिसजाऊ गरिएको पन्डाल उच्च वर्गीयहरुका लागि भनी छुट्याइन्छ । मुस्लिम समुदाय को कुरा गर्ने हो भने अहिले यो समुदाय पनि कहाँ कम छ र देखावटीपनमा । यदि कसैले बच्चाको अकीका, निकाह (विवाह), इफ्तार पार्टी जस्ता कार्यक्रम राख्छन् भने तिनले त पन्डाल त पन्डाल समय स्थान र खानेकुराको भेराइटीसमेत फरक राख्न थाले ।
हेर्नुस् के गर्छन् अर्काका राख्दा निम्न वर्गका लागि टोल त्यो पनि साधारण खानेकुराको व्यवस्था गर्छन् । मध्यम वर्गका लागि मध्यम खाले होटल वा आफ्नै घरमा अलि अलि भेराइटी मेसो मिलाएर राख्छन् तर उच्च वर्गका लागि तीनतारे र पाँचतारे होटेलमा आलीशान भोजको आयोजना गर्छन् । निकाह (विवाह) गर्दा पनि यस्तै हो साधारणहरुका लागि सामान्य होटेल वा मुसाफिर खानामा व्यवस्था गर्छन् । मध्यमवर्गीयका लागि मध्यम खाले होटेलमा र उच्च वर्गका लागि शहरकै महंगो होटेल हुन्छ । यहाँसम्म कि भोजको समयसमेत फरक राख्छन् ताकी ठुला भन्नाले उच्च वर्गकाले यो थाहा न पाइहालुन् कि यसको ताअल्लुकÞ निम्न र मध्यम वर्गसँग जोडिएको यदि थाहा भयो भने के इज्जत रहला भनी सोच, अब इफ्तारको कुरा नि गरौं जो कि दिनको १६–१७ घण्टासम्म पानी समेत नखाई अल्लाहको उपासना गर्छन् तिनले दिनभरीको रोजापछि सूर्य अस्त भइसकेपछि खानुलाई इफ्तार भनिन्छ जो कि हुन् त रोजदारहरुका लागि हुन्छ ।
तर आज यो इफ्तार पार्टी भनेर फेशनको लिन थालिसकेको छ । जसको फलस्वरूप यसमा बाहृय कुराहरु मिसिदैं विकृति फैलिन थाले छ । जुन इफ्तार को बेला रोजदारले आफ्नो–आफ्नो परिवारजन, नाता कुटुम्ब, साथीभाई, देश र दुनियांको हितमा दुआ गर्नुपर्ने किनभने त्यतिबेलाको दुआ कुबूल गरिन्छ । त्यसबेलामा इफ्तार पार्टीका नाम ठुलाठुला नेता मन्त्री, अधिकृत, व्यापारी पत्रकार आदिलाई बोलाएर आहा कति राम्रो बिर्यानी र परिकारहरु भनी भाषण गरेर बिताइन्छ । अनि भोलिपल्ट त्यो खबर हरेक समाचारमा छापिन्छ ठुल्ठुला फोटाहरु हालेर । यहाँ भनाइको अर्थ यो हैन कि तपाईहरु समाजमा धार्मिक वा सामाजिकरुपले विभाजित हुनुस् वा कसैलाई घृणा गर्नुस् वा पर छुट्याउनुहोस् ।
इफ्तारको तरिका यो हो कि जति रोजदारहरु छन् वा कारणवश रोजा बस्न असमर्थ छन् ती सबै एकै दश्तरख्वानमा बसी एकसाथ इफ्तार गर्नु हो । जसले गर्दा समाजमा कायम रहेको वर्गीय जातीय विभेदको अन्त्य होस् । तर आजभोलिका आयोजना हुने इफ्तार पार्टीले वर्गीय विभेदलाई झन् बढावा दिइरहेको छ । यस्ता इफ्तार पार्टी आयोजना गरिन्छ, जसमा विशेष वर्गका व्यक्तिहरु मात्र सहभागी हुन पाउँछन् । जसले गर्दा जातीय विभेदका साथै वर्गीय विभेद बढी छ हेर्ने हो भने वर्गीय विभेदले मानिस मानिसबीच, समुदाय समुदायबीच, परिवार परिवारबीच एउटा ठूलो खाडल खनिदिएको छ जसले विभेदलाई झन् बढावा दिँदैछ ।
माथि उल्लेख गरिएका विवाहमा नीजि स्वार्थ लुकेका हुन्छन् । होइन् भने आज पनि समुदाय धेरै यस्ता महिलाहरु छन्, जसका उमेर पुगेर पनि विवाह हुन सकेको छैन । यसै विषयसँग जोडिएर नेपालगन्जकी वर्षीय ४३ शामीम बानो (नाम परिवर्तित) भन्छिन्, ‘सबैभन्दा ठुलो विभेद आर्थिक असमानता हो, हैसियत हो । नत्र यहाँ अहिले अधिकांश अविवाहित महिला छन्, जसको विवाह परिवार आर्थिकरुपले मजबुत नभएकोले हुन् सकिरहेको छैन ।’ यसैसँग सम्बन्धित रही नेपालगन्ज कि २६ वर्षीय आरती कनौजिया (नाम परिवर्तित)ले भनिन्, ‘आजभोलि वैवाहिक सम्बन्ध ओहदा र नामका आधारमा तय गरिन्छ । जसको ओहदा र नाम बढी छ, उसकी छोरीलाई माग्न आउछन् तर जो साधारण जनमानस छन्, तिनका छोराछोरीलाई आज पनि बिहे हुन गाह्रै छ ।’
नेपालगन्जकी शहनाज बेगम (नाम परिवर्तित) भन्छिन्, ‘काहे कै विभेद अन्त अरे बहिनी यी अन्तर जातकै बिहा सिहा सब बडकै बडकै धन्नासेठ लोगन कै ढकोसला होय । सब यी बडवार बडवार नेतावन कै मन्त्रीवन कै और इन जस बडवार मनयीन कै चोचलाबाची होय । आपन चर्चा करावय कै खत्तिर आउर कुछु न होय । अब तुहीं देखौ बहिनी फलानवा कै बिटिवा सियान होय गय है बकी कौनौ नाय तियार भए बिहा करैक खत्तिर काहे की उकै पास दाम नाय है दे खातिर यहीसेने उकै भाई इण्डिया सै अपन साली कै बिटिया कैहो अपन लरका कै लावा । बडा दाइज पाइस है घरा भर गा है पुरहर । और सुनौ जुमइया बिटिवा तौ बुढाएगै बिचारी लकिन बिहा अभइले नाय भा जानत हौ काहे, काहे कि उकै पास अतना सम्पत्ति नाय है कि बिटिवा कैइहन बिहाम फटफटिया दै सकै दमादवाका । चाहे लेती तौ सैफुनया कै लैजाती अपने देवरवा साथ हर गुनढंगमा तौ है बिटिवा मनै सैफुनया साफै मना कै दिहिस कि झुरै को बिहावत है। तौ बहिनी एक बात कहित हन बुरा न मानैव हिया तौ बाप बडा न भैय्या सब से बडा रुपैय्या ।’
अब यी तीन जनाका कुरा सुनेर यो त प्रष्ट भयो कि जातीय विभेद अन्त्यका नाम लिई ख्याति कमाएका यी विवाह साँच्चिकै भन्ने हो भने जातीय विभद अन्त्यका लागि नभइ आफ्ना व्यक्ति फाइदाका लागि गरिने वैवाहिक सम्झौता हुन् । समाचारमा आएका अन्तरजातीय विवाहको यथार्थ पनि हेरौं । अहिले सम्म सार्वजनिक भएका अन्तर जातीय विवाहका वैवाहिक बन्धनमा बांधिएका व्यक्तिहरुको पृष्ठभूमि हेर्न जरूरी छ । हामीले अहिले सम्म हेर्ने हो भने कुनै साधारण आम व्यक्तिले ल यो सामाजिक विभेद न राम्रो यसका लागि हाम्रो संविधानले पनि अनुमति दिएको छैन । त्यसकारण अब अन्तरजातीय वैवाहिक सम्बन्ध विस्तार गर्नुपर्छ है । अनि यो शुभकार्य हामी आफ्नै छोराछोरीको बिहेबाट गरौं भन्ने कुनै अभियान देख्न पाएका छैन ।
यहाँसम्मकी जो जातीय विभेद अन्त्य हुनुपर्छ भनी सामाजिक रुपान्तरणका अभियन्ता भई दिनरात परियोजना चलाउँछन् तिनले समेत आँट गर्न सकेको अवस्था छैन । अब कुरा आउँछ जब त्यस्तो अवस्था छैन भने कसरी समाचार आउँछ त हो हामी तिनै अन्तरजातीय वैवाहिक सम्बन्धबारे चर्चा गर्छौं । अन्तरजातीय विवाहबारे आएका समाचारमा जहिले पनि हेर्नुहोला ठुलाठुला अक्षरमा अघिल्लो पृष्ठमा लेखिएको हुन्छ फलाना दलित गायकको विवाह फलाना जनजाति डाइरेक्टरसँग, फलाना जयसवाल व्यापारीको छोराको विवाह ढिस्काना गुप्ता सांसदकी छोरीसँग, फलाना यादव नेताकी छोरीको विवाह ढिस्काना आचार्य वरिष्ठ अधिकृतसँग, फलाना शर्मा मन्त्रीका छोराको विवाह ढिस्काना झा मन्त्रीकी नतिनीसँग, फलाना खान वरिष्ठ पत्रकारकी सालीको विवाह ढिस्काना शाह वरिष्ठ नेताको भाईसँग, फलाना अन्सारी डाक्टरका नातिको जो डाक्टर रहेको छ उसको विवाह ढिस्काना शेख डाक्टरको डाक्टर रहेकी बहिनीसँग, फलाना जसगढ इन्जीनियरको इन्जीनियर छोराको विवाह ढिस्काना अन्सारी बरिष्ठ सरकारी जागिरे दिदीसँग, फलाना क्षेत्री वरिष्ठ वकिलका वरिष्ठ वकिल रहेकी छोरीको विवाह ढिस्काना दलित जमिन्दारको विधायक छोरासँग, फलाना बाहुन न्यायाधीशका भतिजाको विवाह ढिस्काना दलित न्यायाधीश कि छोरीसँग, फलाना साहुको खेलाडी छोरीको विवाह ढिस्काना भट्टाचार्यको छोरासँग ।
हेर्नुस् यसमा कुनै सामान्य परिवारको कुरा छ त दलितका नाममा कुनै सामान्य टेलर वा दमाईकी छोरी जिकिर छ त छैन् नि, हेर्नुस् कुनै जनजातिको नाममा थारुको जिकिर छ त छैन नि, हेर्दै जानुस् के एक सामान्य पहाडी परिवार र सामान्य मधेशी परिवार को जिकिर छ त छैन नि, मुस्लिम समुदायको कुरा गर्न हो भने यो समुदायको आधार नै समानता हो जहांँ न अरबीलाई गैर अरबीमाथि फजिलत हसिल छ न गोराहरुलाई कालामाथि फजिलत छ, न अग्लालाई होचामाथि फजिलत छ, न शहरीलाई गाउँलेमाथि फजिलत छ, न जमिन्दारलाई किसानमाथि फजिलत छ, न हाकिमलाई जनतामाथि फजिलत छ, न त एशियनलाई अफ्रीकनमाथि फजिलत छ । सबै जातजाति समुदायलाई एक ठाउँमा काँधमा काँध जोडेर उभिनुपर्छ मश्जिदमा नमाज पढ्दाखेरि सब समान हुन्छ त्यतिबेला कोई ठुलो कोई सानो हुँदैन् एक इमामका पछाडि सबैले नमाज पढ्छन् नमाज पढाउने इमाम लुगा धुने धोबीको छोरा किन न होस् त्यतिबेलाको बादशाहलाई पनि त्यतिबेला पछाडि नै बस्नुपर्छ ।
यस्तो समानताको पाठ सिकाउने इस्लाम धर्ममा कहाँ कम छन् र आफ आफै ठूलो बन्ने र आफुलाई उच्च भनाउँदाहरु । अलिकति सम्पत्ति जोड्यो कि अब उसलाई समाजका गरीबहरु झिनामसीना लाग्न थाल्छन् । अब उसको आफ्नो हाई शोसाइटी सर्किल बिल्डप हुन्छ । जो लगजरियश जीवन बिताएका हुन्छन् र साना र मध्यम वर्गमा बस्न गाह्रो मान्छन् । अनि ती हाई शोसाइटी सर्किल विल्डप भएकाहरु त्यही सर्किलमा आफ्ना छोराछोरीको विवाह गर्न खोज्छन् । अनि कुन चाहिं अंसारीको इन्जीनियर छोरालाई शेखले आफ्नी इन्जीनियर छोरी दिन्छन्, कुन चाहिँ डाक्टर खानले आफ्नी छोरी जसगढका डाक्टर छोरालाई दिन्छन्, कुन चाहिं सिद्दीकी न्यायधीशले आफ्नो भाईको विवाह वरिष्ठ अधिवक्ताकी पाइलट छोरीसँग गर्छन् । कुन चाहिँ बागवानका अन्तर्राष्ट्रिय खेलाडी सालासँग कुन चाहिँ कुरैशीकी अन्तर्राष्ट्रिय पदक विजेता छोरीको विवाह गर्छन् ।
अब आफै सोच्नुहोस् के माथिका यी उल्लेख गरिएका वैवाहिक सम्बन्धहरु जातीय विभेद अन्त्य गर्ने उद्देश्य लिएर नै गरिएका हुन् त ? के यस्ता वैवाहिक सम्बन्धले सामाजिक रुपमा कायम रहेको अन्तरजातीय विभेदलाई साँच्चिकै कम गर्न टेवा पुर्यायो त ? तपाईको मनले आफै जवाफ दिन्छ । होइन कदापि होइन, माथि उल्लेख गरिएका यी वैवाहिक सम्बन्ध कुनै न कुनै रुपले एक अर्कोको नीजि स्वार्थमा केन्द्रित रहेर गरिएका हुन् । हेर्यौं जातीय विभेदको अन्त्य भनेर गरिने चलनचल्तीको विवाहका बखान र हकिकत बयानीमा कति धेरै अन्तर रहेका छन् । बल्की अन्तर भनौं बरु अति स्वार्थ लुकेका हुन्छन् भन्दा बेस होला । हो ती अन्तरजातीय विवाह नीजि स्वार्थमा नै केन्द्रित रहेका हुन्छन्, कुनै राजनैतिक स्वार्थका आधारमा हुन्छन्, कि यदि यसो भयो भने मलाई राजनैतिक संरक्षणका साथै पदोन्नति मिल्छ ।
कुनै आर्थिक स्वार्थमा आधारित कि यदि यसो भयो भने उसले आर्थिक लगानी गर्छ, कुनै स्टेटस मेन्टेनेन्स अर्थात सामाजिक प्रतिष्ठाका नाममा आधारित हुन्छन् । कि यदि यसो भयो भने मेरो गरिमा बढ्छ, कुनै व्यावसायिक स्वार्थमा आधारित हुन्छन् । कि यदि यसो भयो भन्दा मेरो व्यापार माथि जान्छ, कुनै विवाह त ऊ आफ्नो नाम जोडेर समाजमा आफु प्रख्यात हुने लोभमा हुने गरेको हेर्नुभयो होला । कि यदि मेरो ऊसँग जोडियो भने म सफल हुन्छु । चलचित्र क्षेत्रमा हेर्नु हो भने त्यहाँ सोच्छन् यदि यसो भयो भने मेरो फिल्मका लागि उसले गीत गाउँछ वा मलाई नयाँ फिल्ममा आफर दिलाउँछ ।
यसैगरी स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने यदि यसो भयो भने मलाई नीजि अस्पताल बनाउन वा स्वास्थ्य सम्बन्धित सुविधा, बजेट र अन्य सहुलियतहरु दिलाउँछ । यसकारण भर्ममा नपरी यथार्थ बुझौं कि यसरी सम्झौता र स्वार्थमा आधारित रहेर गरिएका विवाह कुनै हालतमा जातीय विभेद अन्त्यका गरिँदैन, न त यो सामाजिक रुपान्तरणका लागि गरिन्छ । यो नितान्त आफ्नो व्यक्तिगत फाइदालाई मध्यनजर गरी गरिन्छ । अर्थात समग्रमा एकटुक भनौं भने अहिले हुने गरेका अन्तरजातीय विवाह पूर्णरुपले स्वार्थमा मात्र निहीत हुने गरेका छन् । यसबाट समाजमा कुनै सकारात्मक असर देखिएको छैन ।
शाहिदा बानो शाह ।