सूचनाको शक्ति - The Power Of Information

        

घिउमा प्रतिलिटर ६० रुपैयाँ वृद्धि, विक्री नहुँदा दूध पोख्दै बाँकेका किसान

बाँके । लकडाउन लम्बिँदै जाँदा नेपालगन्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । नेपालगन्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।

उपभोक्ताले बढी मूल्य किन लिएको भनेर गुनासो गर्ने्बित्तिकै व्यापारीको सहज जवाफ आउने गर्छ, ‘थोकमा माल नै पाइँदैन, हामीले पनि बढी मूल्य तिरेर ल्याउने गरेका छौँ,’ व्यापारीको भनाइ उद्धृत गर्दै नेपालगन्ज–१९ का लक्ष्मण केसीले भने । उनका अनुसार लकडाउनअघिसम्म अस्पताल क्षेत्रको अनुपम डेरीबाट रु.एक हजार प्रतिलिटरमा पाइँदै आएको घिउ अहिले प्रतिलिटर रु एक हजार ६० मा बिक्री गर्ने गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उपभोक्ताका गुनासा आपूmले पनि सुन्ने गरेको बताउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने पसलको अनुगमन गरी कारवाहीको दायरामा ल्याइने चेतावनी दिए । लकडाउनअघि बजार अनुगमन गर्दै आएका नेपालगन्ज उपमहानगरपालिका, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता संरक्षण कार्यालयको भूमिका शून्य भएपछि पनि व्यापारीले कृत्रिम अभाव र मनपरी मूल्य लिने गरेका छन् ।

यता वाणिज्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेल र उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भने बजार अनुगमन गरिएको जिकिर गरेका छन् । यस्तै बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका–८ पिपरीस्थित प्रकृति गाइपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोखे ।

दुग्ध विकास संस्थानको कोहलपुरस्थित दुग्ध वितरण आयोजनाले मङ्गलबार दूध खरीद नगरेका कारण दूध पोख्न बाध्य भएको पोखरेलले बताए । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै त्यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् । दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ । बन्दाबन्दीका कारण डेरीले दूध खरीद नगरिदिँदा पशुपालन व्यवसाय पनि धराशायी हुँदैं गएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार १०:४८