सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या बढेसँगै र्‍यापिड टेस्टमाथि शंका

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्दा यहाँ प्रयोगमा ल्याइएको र्‍यापिड टेस्टको नतिजाको विश्वसनीयतामाथि भने शंका उत्पन्न भएको छ । १३ औं संक्रमित कैलाली जिल्लामा फेला परेकी महिला हुन् भने १४ औं रौतहटमा । १३ औं संक्रमित महिलाले वीरगंजमा चिया पसल चलाउँदै आएकी थिइन् ।

लकडाउन भएपछि सुदूरपश्चिम प्रदेशको कैलाली पुगेकी उनमा संक्रमण देखिएको हो । क्वारेन्टाइनमा रहेकी उनको स्वाब र्‍यापिड टेस्ट किटमार्फत् गर्दा कोभिड–१९ नेगेटिभ देखिएको थियो । त्यसपछि उनलाई क्वारेन्टाइनबाट घर पठाइएको थियो । तर, उनमा देखिएको संकेतहरुले भने कोरोना भएको आशंका पैदा गरिरहेको थियो ।

त्यसपछि उनको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइयो । पीसीआर प्रविधिबाट टेकुमा भएको परीक्षणले भने फेरि उनमा कोभिड १९ को पोजेटिभ देखायो । त्यसो त नेपालमा प्रयोग भइरहेको र्‍यापिड टेस्टलाई विश्व स्वास्थ्य संगठनले विश्वसनीय ठहर्‍याएको छैन । उसले पीसीआर प्रविधिलाई नै कोरोना संक्रमण भए नभएको पहिचान गर्ने आधार बनाउन आग्रह गरेको छ ।

नेपालमा चीनबाट ल्याइएको र्‍यापिड टेस्टले सबै नतिजा भने गलत नै निकालेको भने होइन । यसअघि वाग्लुङमा पनि र्‍यापिड टेस्ट गर्दा अन्यौलपूर्ण परिणाम देखाएको थियो । त्यसको पनि पीसीआर प्रविधिबाट परीक्षण हुँदैछ जसको परिणाम आउन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवारको प्रेस ब्रिफिङमा पीसीआरबाट ५ हजार ६९१ र आरटिडीबाट ५ हजार २९१ जनाको परीक्षण गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १७:४६