काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली करीब २ वर्ष आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर उडाएको जेट प्लेन एक्लै उडाउने निष्कर्षमा पुगेका छन् । २०७५ सालको जेठ ३ गते तत्कालीन एमाले र माओवादीको एकीकरण भएपछि ओलीले ‘जेट चलाउन दुई पाइलट चाहिने’ प्रतिक्रिया दिएका थिए ।
अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ भाइरससँग लड्न सर्वपक्षीय संयन्त्रको माग भइरहेको बेलामा प्रधानमन्त्री ओलीले आफूलाई कसैको निर्देशन आवश्यक नरहेको जनाउ दिएका छन् । ‘सरकारलाई निर्देशन दिने गरेर उच्चस्तरीय या सर्वपक्षीय कुनै पनि नामको संयन्त्र आवश्यक छैन,’ शनिवार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्समार्फत बोल्दै ओलीले भने, ‘सरकार सक्षम छ ।’
प्रधानमन्त्री ओलीको यो भनाइ प्रचण्डले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उच्चस्तरीय संयन्त्रको आवश्यकता रहेको बताएको भोलिपल्टै बाहिर आयो । यसबाट नेकपाभित्र ओली एकलौटी ढंगले अघि बढ्न चाहेको, आफ्नै पार्टीका अर्का अध्यक्ष र अन्य सचिवालय सदस्यहरूसँग कुनै छलफल र परामर्श गर्न नचाहेको बरू एक्लै सक्षम छु भन्ने देखाउन खोजेको स्पष्ट भएको छ ।
प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्समार्फत संवाद गरेपछि उनका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीहरूसँग भने, ‘प्रधानमन्त्रीले सरकार आफैं पूर्णअधिकारका साथ लागिपरेको, योजनाबद्ध र समन्वयात्मक ढंगले अघि बढिरहेको र कुनै संयन्त्र बनाएर सरकारलाई १५–१५ दिनमा निर्देशन दिने खालको मानसिकता नबनाउन स्पष्ट पार्नुभयो ।’
थापाको भनाइमा दुईवटा स्पष्ट सन्देश थियो । पहिलो संयन्त्रका नाममा सरकारलाई दिने निर्देशन कुनै पनि हालतमा मान्य हुँदैन । दोस्रो सरकार आफैं सक्षम छ, कसैले सिकाउनुपर्दैन । थापाले त्यस्तो संयन्त्र नखोज्न प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग निर्देशनात्मक धारणा राखेको समेत बताए । यससँगै नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डबीचको मनमुटाव पनि सतहमा आएको छ ।
प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय संयन्त्रको आवश्यकता रहेको बताएका प्रचण्ड ओलीको यस्तो भनाइपछि निराश बनेका छन् । ‘महामारीको अवस्थाबाट देश गुज्रेको बेला सबै पक्षलाई स्वीकार्य हुने गरेर संयन्त्र बनाउँ भन्ने अध्यक्ष प्रचण्डको भनाइलाई भोलिपल्टै बालुवाटारले खण्डन गर्ला भन्ने हामीले सोचेका थिएनौं,’ पूर्वमाओवादी पक्षका एक केन्द्रीय सदस्यले भने, ‘यसबाट प्रधानमन्त्री ओली एक्लै अघि बढ्न खोजेको संकेत पाइएको छ । यसबाट अध्यक्ष कमरेड प्रचण्ड त निराश भएकै हुनुहोला, हामी पनि खुसी छैनौं ।’
ओली बेखुस हुनुका दुई कारण
पछिल्लो समय प्रधानमन्त्री ओली र पार्टीको सम्बन्ध त्यति राम्रो छैन । गत पुसमा उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा गौतमसहित अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरू भेला हुनुलाई ओलीले आफूविरुद्ध पार्टीमा षड्यन्त्र भएको रूपमा बुझेका छन् ।
‘बहुमतको बलमा मलाई कमजोर बनाउन खोज्नेहरू आफैं सिद्धिएर जान्छन्,’ ओलीले आफ्ना निकटस्थहरूलाई बारम्बार यो भन्दै आइरहेका छन् । ओली पार्टीका नेताहरूसँग खुसी नहुनुको दोस्रो कारण हो यतिबेला ओली निकटबाहेक कसैले पनि सरकारको बचाउ गरेको छैन । सरकारमाथि भ्रष्टाचारको आरोप लागिरहेका बेला पार्टीका कुनै पनि शीर्ष नेताहरूले सरकारको बचाउ गरेका छैनन् ।
बरू केही दिनअघि बसेको सचिवालय बैठकमा उल्टै प्रधानमन्त्री ओलीसँग स्पष्टिकरण मागियो । बरू सरकारमाथि भ्रष्टाचारको आरोप पार्टीनिकटकै नेताहरूले विभिन्न सञ्चारमाध्यमहरूको प्रयोग गरेर लगाइरहेको ओलीको बुझाइ देखिन्छ । ‘उहाँ (ओली)लाई कमजोर देखाउनकै लागि पार्टीकै कतिपय नेताहरूले सरकारमाथि लान्छना लगाइरहेका छन्,’ ओलीनिकट एक नेताले भने, ‘सरकारलाई असफल देखाएर आफ्नो अभिष्ट पूरा गर्न नेकपाकै नेताहरू लाग्नु बिडम्बनापूर्ण छ ।’
मलाई कोही चाहिँदैन – ओली
यतिबेला ओलीको प्रचण्डसँग मात्र नभएर पार्टीका अन्य शीर्ष नेताहरूसँग पनि अविश्वास बढेको छ । यसो हुनुको प्रमुख कारण प्रधानमन्त्रीलाई गलत ब्रिफिङ हुनु पनि एक रहेको स्रोतहरूले दाबी गरेका छन् । ‘नेताहरू चुपचाप बस्ने कुरा पनि भएन, बोल्नै पर्यो । तर प्रधानमन्त्रीका सल्लाहकारहरूले गलत अर्थ लाग्ने गरी प्रधानमन्त्रीलाई ब्रिफिङ गर्छन,’ वामदेवनिकट स्रोतको दाबी छ ।
गत मंगलवार बसेको सचिवालय बैठकमा सवाल–जवाफको सिलसिला लामो चलेको थियो । ओली सचिवालय सदस्यहरूले निरन्तर प्रश्न गर्न थालेपछि ओली चिढिएका थिए । शुरूमा सौहार्दपूर्ण ढंगले प्रस्तुत भएका ओलीमाथि प्रश्नहरू आउन नछोडेपछि उनले ‘मलाई केही पनि थाहा छैन’ भन्दै पन्छिएका थिए । प्रधानमन्त्रीको स्पष्टीकरणमा असन्तुष्टि र अविश्वाससमेत देखिएको थियो । सवालजवाफका विषय थिए, सरकारले चालेका कदम र लिएका केही नीतिगत निर्णय ।
तिनकाबारे बैठकमा प्रधानमन्त्री ओलीले दिएको जवाफमा शीर्ष नेताहरु विश्वस्त रहन सकेनन् । नेकपाका पूर्व एमाले र पूर्व माओवादीका नेता कार्यकर्ताहरूबीच घोचपेच शुरू भएकोे छ । पूर्व एमालेका कार्यकर्ताहरूले त ‘वार गु्रप’ नै बनाएर प्रचण्डको खेदो खन्न शुरू गरिसकेका छन् । त्यस्तै पूर्व माओवादीका नेता कार्यकर्ताहरूले पनि सरकारको विपक्षमा आफ्ना भनाइहरू तीव्रताका साथ राखिरहेका छन् ।
ओलीले बैठकमा सरकारविरुद्ध षड्यन्त्र भएको भन्न छुटाएनन् । एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई सरकार चलाउन कोही नचाहिने बताएका थिए । ‘तपाईंहरू आफ्नो काम गर्नुस्, मलाई आफ्नो काम गर्न दिनुस् । सरकार सक्षम छ, भ्रष्टाचार गर्दैन,’ ओलीको भनाइ उदृत गर्दै ती सचिवालय सदस्यले भने ।
सामाजिक सञ्जालमा ‘साइबर वार’
पार्टी र सरकारभित्र असन्तुष्टि बढेपछि सामाजिक सञ्जाल फेसबूक र ट्वीटरमा नेकपाका पूर्व एमाले र पूर्व माओवादीका नेता कार्यकर्ताहरूबीच घोचपेच चल्न शुरू गरेको छ । एमालेका कार्यकर्ताहरूले त ‘वार गु्रप’ बनाएर हरेक कुरामा प्रचण्डको खेदो खन्न शुरू गरिसकेका छन् । त्यस्तै माओवादीका नेता कार्यकर्ताहरूले पनि सरकारको विपक्षमा आफ्ना भनाइहरू तीव्रताका साथ राखिरहेका छन् ।
सरकार भ्रष्ट भएको, निश्चित व्यापारिक घरानालाई पोषेको, भ्रष्टहरूलाई साथ दिएको जस्ता आरोपहरू नेकपाकै कार्यकर्ताहरूले फेसबूकमा लगाउने गरेका छन् । पूर्व एमालेमा पनि स्पष्ट माधव कुमार नेपालको खेमा र ओली खेमा छुट्टिएको छ । नेता नेपाल पक्षीय कार्यकर्ताहरूले पनि सरकार भ्रष्टाचारी रहेको, ओलीलाई एक्लै अघि बढ्ने शोख पलाएको जस्ता प्रतिक्रियाहरू दिने गरेका छन् ।
सत्यपाटी ।