सूचनाको शक्ति - The Power Of Information

        

फेरियो परिचय, आफ्नै पौरखमा रमाउँदै महिला


बुटवल । तिलोत्तमा नगरपालिकाकी रिता विश्वकर्मालाई आज आफ्नो फर्म यो अवस्थामा आइपुग्ला भनेर विश्वासै थिएन । तर उनले गरेपछि के हुँदैन भन्ने राम्रो उदाहरण आफैले संगालेकी छन् । सामान्यतया घरायसी प्रयोगका लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी निर्वाहमूखी तरिकाले कुखुरा पालेकी विश्वकर्माको कुखुरा फर्मका कुखुराहरु कोही दानापानी खाँदैछन् छ कोही क्वाक कराउँदै छन् ।
उनी आफैले कुखुराको रेखदेख गर्दैछिन् । कुखुराको हेरविचार गर्नु र समयमा दाना पानी दिँदैमा उनको समय बित्ने गर्दछ । त्यही कुखुराको कारण आजभोली उनको परिचय पनि फेरिएको छ । उनी आजभोली गृहिणीबाट व्यवसायी महिला बनेकी छन् । कुखुरापालन व्यवसायले एकातिर उनको परिचय फेरिदिएको छ भने अर्कोतर्फ उनको जिवनस्तरमा समेत परिवर्तन ल्याएको छ ।
उनीजस्तै दैनिकी फेरिएका पात्र अरु पनि छन् । प्रेमनगरकै देवकला गुरुङ्गलाई चिन्नेहरु आजभोली दङ्ग छन् । झण्डै एक दशकअघि घरको आर्थिक आवस्था सुधार्न सपना बुनेर रोजगारीको खोजीमा भारत पसेका उनका श्रीमान् १० वर्ष बित्दासमेत नफर्कँदा उनलाई श्रीमानसँगको विछोडको पिडा त छँदैथियो । त्यसैमाथि स–साना लालाबालाको सुन्दर भविष्य निर्माणको जिम्मेवारी पनि थपियो । आत्मबलका साथ पीडालाई शक्तिमा रुपान्तरण एउटा बाख्राबाट आफनो आयआर्जनको यात्रारम्भ गरेकी गुरुङ्गको अनुभव छ, ‘गरेपछि के हुँदैन ।’
उनी आफ्नै मेहनत र परिश्रमबाट तीनवटा छोराछोरी हुक्र्याउनेदेखि शिक्षासम्म यही बाख्राबाट खर्च चलाउँदै आएकी छन् । एउटा बाख्राबाट व्यवसाय सुरु गरेकी गुरुङ्गको खोरमा अहिले २० वटा बाख्रा छन् । खोरभरका बाख्रा देख्दा जो कोहीलाई लोभ लाग्छ । आफ्ना सन्तानलाई जस्तै गरी उनले निकै जतन र मायाले बाख्रा पालेकी छन् । बाख्रापालनले उनको पनि दैनिकी फेरिएको हो । बाख्रापालनबाट बार्षिकरुपमा आम्दानी भएको रुपैयाँले साझ बिहानको खर्च शरीर ढाक्ने कपडादेखि छोराछोरीको उज्वल भविष्यको कल्पना गर्दै राम्रो विद्यालयमा पठनपाठनका लागि खर्च पुर्याउँदै आएकी छिन् ।
सरकारले व्यवसायिक फर्म सञ्चालन गर्नेहरुका लागि आर्थिक र प्राविधिक सहयोगका कार्यक्रम ल्याए पनि आफ्नो मेहनत र परिश्रममा हुर्किएका गुरुङ्ग र विश्वकर्माजस्ता मेहनती महिलाहरु सरकारी सेवाबाट धेरै टाढा भएको आफ्नो अनुभव उनीहरुसँग छ । उनीहरु भन्छन्, ‘आफ्नो घरका पुरुषले त सहगोग गरेनन्, सरकारले समेत गरेन । हामी जस्ता निमुखा महिलाको पहुँच नपुगेकै कारण सरकारी सेवा र सुविधाबाट बञ्चित हुनुपरेको हो ।’
कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायीकरुपमा अघि बढाउने हो भने महिलाहरु आर्थिकरुपले बलियो बन्ने राम्रो अवसर सृजना हुने गुरुङ्ग र विश्वकर्माको विश्वास छ । व्यवसायीक कुखुरा र बाख्रापालन गर्दा पुरुषको सहयोग विना सकिँदैन भन्ने मानसिकता बोकेका महिलाहरुका लागि उनीहरु एउटा गतिलो उदाहरण बनेका छन् ।

प्रकाशित मिति : ५ पुष २०७४, बुधबार १०:२३