सूचनाको शक्ति - The Power Of Information

        

लकडाउनमै बान्नी चैतली मेलामा हजारौंको भीड

बझाङ । बझाङ जिल्लामा मनाइने ऐतिहासिक तथा धार्मीक मेलाहरुमा स्थानीयहरुको भीड नै लाग्ने गरेको छ । सरकारले लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनावश्यक भीडभाड गर्न रोक लगाएको भए पनि छबिस पाथिभेरा गाउँपालिका बान्नी चौरमा मनाइने बान्नीकी चैतलीमा भने स्थानीयहरुको घुइँचो नै लागेको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या नेपालमा पनि बढेसँगै सरकारले थप प्रभावित नहोस् भन्ने उद्देश्यले लकडाउनको घोषणा गरिरहेका बेला छबिस पाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउनलाई उलङ्घन गरी हजारौंको भीडभाडमा सोमबार बान्नीकी चैतली मेला मनाएका छन् ।

गाउँपालिकाले मेला स्थगन गरिएको बताए पनि त्यहाँ चार हजारभन्दा बढीको सहभागिता रहेको इन्जिनियर सिंहले जानकारी दिए । बान्नीकी चैतलीमा स्थानीबीच भकुण्डो खेल्ने र मस्टा देवताका लागि काकर चढाउने प्रचलन छ । तर, स्थानीयले भने स्थानीय सरकारले पूर्णरूपमा मेला नलगाउन निर्देशन नदिएको बताएका छन् ।

स्थानीय तहले घरबाट एक जनामात्रै आउन भने पनि मानिसहरू बढी आएकाले झडप भएको स्थानीयले बताए । बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला हुन्छ भन्ने नै थाहा नपाएको भन्दै पछि मात्रै थाहा पाएको बताए । गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले चैतली मेला भीडभाड गरी मनाउन रोक लगाउँदा पनि स्थानीयले अटेरी गरेको बताइन् ।

देश लकडाउनमा भएका बेला जिल्ला सदरमुकाम बाहेक गाउँमा मन्दिरमा नवरात्रीका बेला पनि ठूलो भीडभाड हुँदै आएको छ । अन्य प्रदेशभन्दा सुदूरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा छ । यस्तै चैतली मेलामा तल्लो छबिस र मल्लो छबिसबीच विवाद भएपछि १२ जना घाइते भएका छन् ।

सोमबार साँझ ६ बजेतिर दुई समुहबीच झडप भएको हो । जात्रामा भकुण्डो हान्ने बेला झडप भएको थियो । झडपमा ढुंगा हानाहान हुँदा दुवै पक्षका १२ जना घाइते भएको छविस पाथिभरा गाउँपालिकाका इन्जिनियर उत्तम सिंहले बताए । गाउँपालिकाका इन्जिनियर सिंहले भकुण्डो खेल्ने बेला झडप भएको बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १५:३८