बाँके । बाँके निर्वाचन क्षेत्र नं. २ का संघिय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जका एम्बुलेन्स चालकहरुलाई पर्सनल प्रोटेक्सन इक्युपमेन्ट अर्थात ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराएका छन् । कोबिड–१९ नोबल कोरना भाइरसको संक्रमणबाट जोगिनका लागि पीपीई उपलब्ध गराएका हुन् ।
पूर्वमन्त्री राईले बिहिबार नेपालगन्जमा रहेका ४७ जना एम्बुलेन्स चालकहरुलाई पीपीईसँगै ग्लोबस, माक्स, लामो जुत्ता, सेनिटाइजर, टोपी उपलब्ध गराएका हुन् । उनले स्वास्थ्यकर्मी, चिकित्सकजस्तै अग्रपंक्तीमा रहेर काम गर्नुपर्ने भएको हुँदा एम्बुलेन्स चालकहरु पनि कोरोनाको उच्च जोखिममा रहेको भन्दैसुरक्षा उपकरण उपलब्ध गराएको जानकारी दिए ।
उनले कोरोना भाइरसको नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई राज्य तथा संघसंस्थाको तर्फबाट कुनै सुरक्षाका सामग्री उपलब्ध नभएकाले पीपीई लगायतका सुरक्षाका सामग्री उपलब्ध गराएको जानकारी दिए । यी सामग्रीले चालकहरुलाई कोरोना भाइरसको जोखिमबाट बच्न सहयोग पुग्ने भएकाले व्यक्तिगत सुरक्षा सामग्री प्राप्त गरेपछि चालकहरु खुसी भएका छन् ।
पूर्वमन्त्री राईले आफुहरुलाई उपलब्ध गराएका सामग्रीले स्वास्थ्यको जोखिमबाट बच्न सहयोग पुग्ने एम्बुलेन्स चालकहरुको धारणा छ । पूर्वमन्त्री राईले बाँकेमा कोरोना नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन र कोरोनाका गम्भीर प्रकारका बिरामीलाई चेकजाँच गर्न सहज होस् भनेर बाँकेका बिभिन्न अस्पतालहरुलाई १० वटा सिसा बक्स प्रदान गरेका छन् ।
नेपालगन्जस्थित भेरी अस्पताललाई तीन वटा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जलाई तीन वटा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई दुई वटा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई दुई वटा गरी १० वटा सिसा बक्स प्रदान गरिएको पूर्वमन्त्री राईले जानकारी दिए ।
सत्यपाटी ।