सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीवासीले मनाए ‘छोरा’ तिहार


डोल्पा । भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।
भाइटीकामा दिदीबहिनीको हातबाट दाजुभाइले टीका लगाउने गर्छन् तर छोरा तिहारमा आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनका रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।
टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाका रुपमा पैसा, धोती, चोलीलगायतका सामग्री दिएर टीका थाप्ने गरिन्छ । छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर–घर तथा गाउँ–बस्तीमा पुगेर भैलो खेल्ने प्रचलन छ ।
आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला–देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पीर–व्यथा साटासाट गर्ने गरिन्छ । भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने त्रिपुरासुन्दरी–१ का स्थानीयवासी रविप्रसाद न्यौपानेले बताए । यो भैलो तिहारको देउसीभन्दा फरक ढंगबाट र फरक लयमा खेलिने उनले बताए ।
भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएका सबैजना मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेकोसमेत उनले बताए । छोरा तिहारमा आमा नहुनेले भने स्थानीय मन्दिरमा गएर पुजारीको हातबाट टीका–अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् । रासस

प्रकाशित मिति : ५ पुष २०७४, बुधबार ०७:२७