सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएका छन् । उनीहरू कारागारको झ्यालबाट फरार भएको प्रहरीले बताएको छ । थुनुवा राति नै फरार भएपनि सुरक्षार्थ खटिएका प्रहरीले भने आज बिहान मात्रै थाहा पाएको हो ।
पक्की थुनुवा घरको पछाडिको झ्याल फोडेर भागेका तीनै जना लागुऔषध मुद्दामा पक्राउ परेकाहरू हुन् । फरार भएकामा वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल थारु र भेरीगंगा नगरपालिकाका २१ वर्षीय सन्देश कशेरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक गोपाल रायमाझी तथा प्रहरी प्रमुख एसपी दिल्लीराज पन्तले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लोकराज तिम्सिनाले तीन जना फरार भएको पुष्टि गरेका छन् ।
उनले घटनाका सम्बन्धमा छानबिन समिति गठन गर्ने र छानबिन प्रतिवेदनका आधारमा कमजोरी गर्नेलाई कारबाही गरिने पनि बताए । ‘हामीले प्रारम्भिक रुपमा अनुसन्धान शुरु गरिसकेका छौं,’ तिम्सिनाले भने, ‘यो घटनाको छानबिन समिति नै बनाएर अनुसन्धान हुन्छ । प्रहरीको संलग्नता वा लापरवाही देखिए कानून बमोजिम कारबाही हुन्छ ।’
सत्यपाटी ।